महंगो भयो भान्सा, निषेधाज्ञामा तरकारीको भाउ ३८ प्रतिशतसम्म बढ्यो



काठमाडौं । लकडाउन र निषेधाज्ञाको समयमा बजारमा आलुको मूल्य निकै आकासिएको छ । बजारमा पाइने विभिन्न प्रकारको आलुको मूल्य एक्कासी बढेको हो ।

हाल आलुको मूल्य बढेर प्रतिधार्नी २ सयभन्दा माथि पुगेको छ । हरियो सागपात तथा अन्य तरकारीको मूल्य मासुभन्दा पनि महंगो भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको आलुको मूल्य अनुसार रातो आलुको मूल्य प्रतिकेजी ८९ रुपैयाँ तोकेको छ । कालीमाटीको अनुसार मूल्याङ्कन गर्दा प्रतिधार्नी आलुको मूल्य २२२.५ रहेको छ । तर, खुद्रा बजारमा पुग्दा यसको मूल्य बढेर २३० देखि २४० सम्म बेचिरहेका छन् ।

यस्तै भारतीय रातो आलुको मूल्य प्रतिकेजी ५९ रुपैयाँ छ भने मुडेको आलुको मूल्य प्रतिकेजी ७६ रुपैयाँ पुगेको छ । कालीमाटीले तोकेको अनुसार भारतीय आलुको प्रतिधार्नीको १४७.५ रुपैयाँ पुगेको छ । साथै, मुडेको आलुको मूल्य प्रतिधार्नी १९० रुपैयाँ पुगेको छ । यी आलु खुद्रा बजारमा पुग्दासम्म १६० देखि २१० सम्म प्रति धार्नी विक्रि गरिरहेका छन् ।

३८ प्रतिशतले बढ्यो
आलुको मूल्य गत साउन महिनाको तुलनामा ३८ प्रतिशतले मूल्य वृद्धि भएको छ । गत साउनमा प्रति केजी ५५ मा बिक्री भएको आलु अहिले बढेर ७६ पुगेको छ । जुन गत महिनाको तुलनामा ३८.१८ प्रतितशले बढी हो ।

त्यसैगरी गत महिना भारतीय रातो आलु र रातो आलुको मूल्य प्रतिकेजी ५१ र ६८ रुपैयाँ तोकेको थियो । अहिले ती आलुको मूल्य बढेर ५९ र ८९ रुपैयाँ पुगेको छ । जुन तुलनात्मक रुपमा क्रमशः १५.६९ र ३२.८४ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी ठूलो नेपाली गालेभेडाको मूल्य प्रतिकेजी ९२ पुगेको छ । गत साउनको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, सानो गालेभेडाको ४२, टनेल गोलभेडा सानोको ५२ रुपैयाँ तोकेको छ ।

लकडाउन र निषेधाज्ञाले आवतजावतमा कठिनाइ र तरकारी उत्पादन नहुने मौसम भएकाले तरकारीको मूल्य वृद्धि भएको समितिले जनाएको छ ।


क्लिकमान्डु