निर्जीवन बीमा कम्पनीहरुको मोटर बीमा व्यवसायको हिस्सा ३७%, सबैभन्दा कम कृषिमा



काठमाडौं । सवारीको अनिवार्य रुपमा बीमा गराउनु पर्ने भएपछि निर्जीवन बीमा कम्पनीहरुको ध्यान यतिबेला मोटर बीमामा केन्द्रित भएको देखिन्छ ।

हाल निर्जीवन बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रीक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ, कोरोना र अन्य विविध बीमा लेख बिक्री गरिरहेका छन् ।

जसवापत कम्पनीहरुले सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा २५ अर्ब ८२ करोड रुपैयाँ बढी कुल बीमा शुल्क संकलन गरेका थिए । जसको ३६.९७ प्रतिशत अर्थात् ९ अर्ब ५३ करोड बढी मोटर बीमा वापत बीमा शुल्क संकलन गरेका हुन् । सो अवधिमा कम्पनीहरुले ५ अर्ब ३२ करोड रुपैयाँ बढी मोटर बीमा दावी भुक्तानी गरेका छन् ।

समीक्षा अवधिमा कम्पनीहरुले सबैभन्दा थोरै कुल बीमा शुल्कको ४.६७ प्रतिशत अर्थात् १ अर्ब २० करोड ७२ लाख रुपैयाँमात्र कृषि तथा बालाी बीमा वापत बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा कम्पनीहरुले ७३ करोड ४० लाख रुपैयाँ सो बीमा लेख वापतको बीमा दावी भुक्तानी गरेका छन् ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांकअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले कुल प्रिमियम संकलनको २०.६३ प्रतिशत अर्थात् ५ अर्ब ३२ करोड रुपैया बढी अग्नी बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा कम्पनीहरुले २ अर्ब १४ करोड रुपैयाँ बढी अग्नी बीमा दाबी भुक्तानी गरेका छन् ।

यसैगरी समीक्ष अवधिमा कम्पनीहरुले कुल बीमा शुल्कको १०.५० प्रतिशत अर्थात् २ अर्ब ७१ करोड रुपैयाँ बढी इन्जिनियरिङ बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा कम्पनीहरुले १ अर्ब ३९ करोड रुपैयाँ बढी इन्जिनियरिङ बीमा दावी भुक्तानी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले समीक्ष अवधिमा कुल बीमा शुल्क संकलनको ८.९५ प्रतिशत अर्थात् २ अर्ब ३१ करोड रुपैयाँ बढी हवाइ बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा कम्पनीहरुले ९५ करोड ६९ लाख रुपैयाँ हवाई बीमा दावी भुक्तानी गरेका छन् ।

समितिद्वारा उपलब्ध तथ्यांकअनुसार समीक्ष अवधिमा कम्पनीहरुले १ अर्ब ४९ करोड रुपैयाँ बढी सामून्द्रिक बीमा शुल्क आर्जन गरेका छन् भने ८१ करोड १० लाख रुपैयाँ बढी सोही बीमा लेखको दावी भुक्तानी गरेका छन् ।

साथै, सो अवधिमा कम्पनीहरुले कुल बीमा शुल्कको १२.५० प्रतिशत अर्थात् ३ अर्ब २२ करोड रुपैयाँ बढी विविध बीमा लेख वापत बीमा शुल्क संकलन गरेका छन् । सो बीमा लेखका परेको दावी वापत कम्पनीहरुले समीक्षा अवधिमा १ अर्ब ४४ करोड रुपैयाँ बढी भुक्तानी गरेका छन् ।


क्लिकमान्डु