बैंकका सञ्चालकलाई राष्ट्र बैंकको नैतिक शिक्षा, शिष्ट बोली बोल
काठमाडौं । सामान्य मानिसलाई लाग्न सक्छ, ठूलो पैसा चलाउने बैंक तथा वित्तीय संस्थाका सञ्चालकको व्यवहार पनि ठूलै होला । उनीहरुले आफ्नो पदीय मर्यादा अनुसार नै व्यवहार गर्लान् ।
किनकी टाइ सुट लगाएका, चिल्ला र महंगा सवारी साधन चढ्ने बैंकका सञ्चालकको व्यवहार नराम्रो होला भन्ने अनुमान नै गर्न सकिदैन । किनकी बैंक तथा वित्तीय संस्थामा कर्पोरेट कल्चर हुन्छ भन्ने आम मानिसलाई लाग्छ । बाहिरबाट हेर्दा देखिन्छ पनि त्यस्तै ।
तर पछिल्ला दिनमा केही बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरु नै एक अर्कामा बाझाबाझ गरेको तथा अशिष्ट व्यवहार देखाएको पाइएपछि नेपाल राष्ट्र बैंकले उनीहरुलाई अनुशासनको पाठ नै पढाउनु परेको छ ।
केही बैंकका केही सञ्चालकले अशिष्ट व्यवहार देखाएपछि केन्द्रीय बैंकले उनीहरुलाई नैतिक शिक्षा नै दिएर सचेत गराउनु परेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको एकीकृत निर्देशिकामा बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई राम्रो भाषामा तिमीहरु झगडा नगर, राम्रो व्यवहार देखाऊ भनेको छ ।
राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकाको बुँदा नं ६२ मा बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई पदीय मर्यादा कायम राख्न भनेको छ ।
राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ‘ सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नुपर्नेछ ।
संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु गराउनु हुँदैन ।’