‘एकीकृत बाल संरक्षण’ नीति ल्याउँछौंः मन्त्री गुरुङ
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणका लागि ‘एकीकृत बाल संरक्षण’ नीति ल्याउने घोषणा गरेका छन् ।
मन्त्री गुरुङले अनाथ तथा असहाय बालबालिकाहरुको संरक्षण सरकारको प्रत्यक्ष निगरानीमा हुने गरी सो नीति ल्याउने योजना तय गरिएको बताएका छन् ।
नक्सालस्थित नेपाल बाल संगठन, केन्द्रिय कार्यालयको अनुगमन गर्ने क्रममा उनले बाल संरक्षणको कामलाई सरकारले राष्ट्रिय गौरवकै आयोजनाको रुपमा अघि बढाउन लागेको बताए ।
‘बालबालिकाहरुको संरक्षणको नाममा धेरै बालगृहहरु खुले पनि त्यसले उचित संरक्षण दिन सकेको देखिदैन,’ मन्त्री गुरुङले भने,‘त्यसैले सरकारले ती सबै बालगृहहरुलाई आफ्नो मातहतमा ल्याई उचित संरक्षणको व्यवस्था गर्न ‘एकीकृत बाल संरक्षण नीति’ ल्याउनैपर्ने भएको हो ।’
मन्त्री गुरुङले नेपाल बाल संगठनको स्वामित्वमा रहेका चलअचल सम्पत्तिको अभिलेख राखि त्यसको दुरुपयोग हुन नदिन पनि संगठनका पदाधिकारीलाई निर्देशन दिए ।
संगठनको अचअचल सम्पत्तिको चरम दुरुपयोग भएको अभियोग लागेपछि संगठनको केन्द्रिय कार्य समिति विघटन गरी विद्या उपाध्याय न्यौपानेको अध्यक्षमा नयाँ तदर्थ समिति गठन गरिएको छ । मन्त्री गुरुङले बाल गृहहरुको सुधारका लागि पनि संगठनको पुरानो कार्य समिति विघटन गर्नु परेको बताए ।
उनले अनुगमनका क्रममा त्यहाँ रहेको बाल गृहको अवस्थाबारे जानकारी लिए ।
यसैबीच, मन्त्री गुरुङले नेपाल बाल संगठनको नक्सालस्थित केन्द्रिय कार्यालयमा कोरोना महामारीबाट बचाउनका लागि ‘होम क्वारेन्टाईन’ को व्यवस्था गर्ने भएका छन् ।