गत आवमा निर्जीवन बीमा कम्पनीले गरे ४२ अर्ब ९७ करोड २२ लाख लगानी



काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४२ अर्ब ९७ करोड २२ लाख रुपैयाँ बढी लगानी गरेका छन् ।

उक्त अवधिमा पुनर्बीमा कम्पनीसहित सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गा बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा लगानी गरेका हुन् ।

बीमा समितिले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नै बीमासम्बन्धी लगानी निर्देशिका जारी गरेको थियो । सो पश्चात कम्पनीहरुले तोकिएको सीमा रहेर कृषि, पर्यटन, पूर्वाधार, हाइड्रो घर जग्गामा लगानी गर्ने बाटो खुल्ला गरेको थियो ।

सो अघिसम्म कम्पनीहरुले बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र ऋणपत्रमा मात्र लगानी गर्न पाउँथे ।

लगानीको दायरा खुल्ला भएपनि बीमा कम्पनीहरुले आम्दानीको मुख्य स्रोत बैंक तथा वित्तीय संस्थाको मुद्दति र सेयरमा लगानीलाई नै बनाएका छन् ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांकअनुसार समीक्षा अवधिमा कम्पनीहरुको सबैभन्दा बढी लगानी बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेपमा छ । सो अवधिमा कम्पनीहरुले कुल लगानीको ८१.२४ प्रतिशत अर्थात् ३४ अर्ब ९१ करोड ३० लाख बढी लगानी मुद्दतिमा गरेका हुन् ।

कम्पनीहरुको मुद्दतिमा लगानीको विवरण


जसमध्ये वाणिज्य बैंकको मुद्दतिमा २९ अर्ब २८ करोड ४६ लाख रुपैयाँ बढी, विकास बैंकको मुद्दतिमा ४ अर्ब ८५ करोड ३९ लाख बढी र वित्त कम्पनीहरुको मुद्दतिमा ७५ करोड ४५ लाख बढी लगानी निर्जीवन बीमा कम्पनीहरुले गरेका हुन् । साथै पुर्वाधार विकास बैंकको मुद्दतिमा आइएमई जनरल इन्स्योरेन्सले २ करोड रुपैयाँ लगानी गरेको छ ।

गत आवको असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले कुल लगानीको १०.८८ प्रतिशत अर्थात् ४ अर्ब ६७ करोड ६३ लाख रुपैयाँ बढी सेयरमा लगानी गरेका छन् । जसमध्ये १ अर्ब ८२ करोड ३१ लाख रुपैयाँ बढी पब्लिक कम्पनीको साधारण सेयरमा र २ अर्ब ८५ करोड ३२ लाख रुपैयाँ बढी बैंक तथा वित्त कम्पनीको अग्राधिकार सेयरमा लगानी गरेका हुन् ।

कम्पनीहरुको सेयरमा लगानीको विवरण

बीमा कम्पनीहरुले पनि धेरै अगाडिदेखि नै आफ्नो लगानी संकुचित भएको कारण नाफा बढाउन नसेको गुनासो गर्दै बीमा समितिलाई लगानीको दायरा बढाउन माग गरेका थिए । तर आफ्नो माग पूरा भएतापनि बीमा कम्पनीहरुले लगानी उत्पादनमुलक क्षेत्रमा गरेको छैनन् ।

सो अवधिमा कम्पनीहरुले कुल लगानीको ०.५१ प्रतिशत अर्थात् २२ करोड ७ लाख ३१ हजार रुपैयाँ मात्र कृषि, पर्यटन, पुर्वाधार र जलस्रोतमा लगानी गरेका छन् । जसमा पनि पुनर्बीमा सहित सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमा ८ वटाले मात्र सो शीर्षकमा लगानी गरेका छन् ।

कम्पनीहरुको उत्पादनमुलक क्षेत्रमा लगानीको विवरण


समीक्षा अवधिमा कम्पनीहरुले नेपाल सरकारले बचतपत्रमा ०.७८ प्रतिशत अर्थात् ३३ करोड ८८ लाख रुपैयाँ, म्युचअल फण्ड र नागरिक लगानी कोषमा कुल लगानीको ०.९६ प्रतिशत अर्थात् ४१ करोड ५९ लाख रुपैयाँ र अन्य क्षेत्रमा कुल लगानीको ५.६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड ७२ लाख रुपैयाँ लगानी गरेका छन् ।


क्लिकमान्डु