उजुरी दर्ता गर्ने बीमा समितिका कर्मचारी कारबाहीको भागिदार



काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले आफू अनुकुल काम नगर्ने कर्मचारीको धमाधम सरुवा गर्न थालेका छन् ।

बीमा समितिमा आफू काम गरिरहेको शाखामा काम गर्न र अन्यत्र सरुवा नहुनका लागि कि नेकपा समर्थित हुनुपर्छ कि अध्यक्षको एस म्यान हुनुपर्छ । अन्यथा कुन बेला सरुवामा पर्ने हो थाहा नै नहुने अवस्था आएको समिति निकट स्रोतको दाबी छ ।

जसका कारण अध्यक्ष इतरका कर्मचारीहरु कुन बेला के आइपर्ने हो भन्ने त्रासका बीच काम गर्न बाध्य छन् ।

पछिल्लो शिकारमा परेका छन् उजुरी शाखाका उप निर्देशक विरोध भट्ट । अध्यक्ष चापागाईले भनेको नमानेका कारण उजुरी शाखामा कार्यरत भट्टको कानून शाखामा सरुवा भएको छ ।
भट्टको साथै त्यही शाखामा नै रहेकी रञ्जिता केसीको पनि कानून शाखामा सरुवा भएको हो ।

अघिल्लो साता नेपाल लाइफ इन्स्योरेन्सका पुराना अभिकर्ता नन्दुप्रसाद तिवारीको नाममा समितिमा जापानबाट उजुरी आयो । तर अध्यक्ष चापागाईले उक्त उजुरी दर्ता नगर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

एक जनाको उजुरी आएपछि त्यो बीमा कम्पनी स्वयमले पनि मिलाउन सक्ने भन्दै त्यही ध्यान गएको थिएन । जब सोही तिवारीको नाममा बुटवलका अभिकर्ताहरु लिलाधर घिमिरे, एजेन्सी म्यानेजर बिना बेलबासे र निमा शेर्पाले पनि अभिकर्ता तिवारीको विरुद्धमा समितिका उजुरी दिए त्यसपछि भट्टले उजुरी दर्ता गरे ।

उक्त उजुरी दर्ता गरेकै कारण भट्टको सरुवा भएको स्रोतको दाबी छ ।

एकै व्यक्तिको नाममा ४ जनाले उजुरी दिएपछि किन निवेदन दर्ता नगर्ने भन्दै उजुरी परेको थियो ।

समितिले कर्मचारीलाई धमाधम सरुवा गर्न थालेपछि बीमा समिति कर्मचारी यूनियनले समेत विज्ञप्ति जारी गरेर विरोध जनाएको छ । समितिले कोरोनाको महामारीको समयमा घरबाट नै काम गरिरहेका कर्मचारीहरुलाई बिना कारण विभेदपूर्ण तरिकाले सरुवा गरेको जनाएको छ ।

बिना कारण एक आर्थिक वर्षभित्रै पटक–पटक कर्मचारी सरुवा गर्ने गरेकाले यस्तो कार्य तत्काल रोक्न समेत माग गरेको छ । समितिले कर्मचारीलाई काम गर्न उत्साहित गर्नुपर्नेमा कोरोनाको समयमा घरबाटै काम गरिरहेका कर्मचारीलाई अध्यक्ष स्वार्थ नमिलेका कारण सरुवा गर्दा समितिको उद्देश्य प्राप्तिमा असर पर्ने यूनियकनको ठहर छ ।

कर्मचारीको सरुवा गर्दा आधिकारीक यूनियनसँग कुनै सहकार्य नै नगरी कर्मचारीको सरुवा गरेको भन्दै रुष्ठ बनेका छन् ।

समितिको कर्मचारी यूनियनले समितिलेलाई कर्मचारी सरुवाको लागि विनियमावली बनाउन पटक पटक आग्रह गरेको छ । तर समितिको नेतृत्वले मानेको छैन । जसका कारण माथिल्लो तहका अधिकारीको चाहना अनुसार कर्मचारीको सरुवा बढुवा हुने गरेको छ ।

समितिले गत मंसिमा बीमालेख तथा बीमाङक्ीय मूल्याङकन शाखाबाट पूर्णबहादुर थापालाई सूचना व्यवस्थापन शाखा, प्रशासन शाखामा रहेका शम्भु प्रसाद मिश्रलाई नियमन शाखामा सरुवा गरेको थियो ।

यस्तै यही भदौ ४ र ५ गते कुन्दन सापकोटा, केशव प्रसाद दाहाल, ओम बहादुर अधिकारीलाई सरुवा गरेको छ ।

सापकोटाले १ वर्षमा २ पटक सरुवामा परेका छन् । लघु बीमा शाखाबाट बीमालेख तथा बीमाङ्कीय मूल्याङन शाखा र त्यहाँबाट पनि सूचना व्यवस्थापन शाखामा सरुवा भएका छन् ।

यस्तै लेखा शाखामा रहेका दाहाललाई अहिले कुनै पनि शाखाको जिम्मेवारी दिएको छैन । यस्तै अधिकारीलाई स्थलगत निरीक्षणबाट इजाजत शाखामा सरुवा गरिएको छ ।

बीमा सिमितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले कर्मचारीलाई कुनै स्वार्थको आधारमा सरुवा नगरेको दाबी गरे । यो समितिको नियमीत प्रकृया भएको उनको दाबी छ ।

उनले कर्मचारी सरुवा गर्ने विनियमावली जहिले आवश्यक पर्छ त्यो बेला नै नेतृत्वले बनाउने पौडेलको भनाइ छ ।


क्लिकमान्डु