जीवन बीमा कम्पनीको सेयर बजारमा ३१ अर्ब ५९ करोड रुपैयाँको लगानी



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म जीवन बीमा कम्पनीले ३१ अर्ब ५९ करोड १ लाख रुपैयाँ बढी सेयर बजारमा लगानी गरेका छन् । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले सो अवधिमा पब्लिक कम्पनीको साधारण सेयरका साथै क, ख र ग वर्गको अग्राधिकार सेयरमा लगानी गरेका हुन् ।

गत आवमा जीवन बीमा कम्पनीहरुले कुल २ खर्ब ८४ अर्ब ६७ करोड रुपैयाँ बढी लगानी कृषि, पर्यटन, पुर्वाधार, हाइड्रो घर जग्गा बैंक तथा वित्त कम्पनीको मुद्दति निक्षेप, सरकार तथा विभिन्न कम्पनीहरुले जारी गरेको सेयर र डिवेन्चरमा गरेका थिए । कम्पनीहरुले कुल लगानीको ११.०९ प्रतिशत लगानी सेयर लगानी गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुले समीक्षा अवधिमा पब्लिक कम्पनीहरुको क, ख र ग वर्गको अग्राधिकार सेयरमा २० अर्ब ७२ करोड ३६ लाख र सुचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १० अर्ब ८६ करोड ६४ लाख रुपैयाँ लगानी गरेका छन् । साथै, सो अवधिमा नेशनल लाइफ इन्स्योरेन्सले पब्लिक कम्पनीको सुरक्षित डिवेन्चरमा ५ अर्ब ७८ लाख ६९ हजार रुपैयाँ लगानी गरेको छ ।

बीमा समिति तथा बीमा कम्पनीहरुबाट उपलब्ध तथ्यांकअनुसार गत आवको असार मसान्तसम्म १० वटा जीवन बीमा कम्पनीले १ अर्ब रुपैयाँ बढी सेयर बजारमा लगानी गरेका छन् । साथै, ७ वटा कम्पनीले ६० करोडभन्दा कम र २० करोड रुपैयाँ बढी सेयरमा लगानी गरेका छन् भने २ वटा कम्पनीले ६ करोडभन्दा कम लगानी सेयरमा गरेका छन् ।

गत आवमा सेयरमा लगानी गर्ने बीमा कम्पनीको अग्रपंत्तिमा लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले सो अवधिमा साधारण सेयरमा २ अर्ब २५ करोड ८६ लाख र बैंक तथा वित्त कम्पनीको अग्राधिकार सेयरमा ४ अर्ब १ करोड ११ लाख रुपैयाँ गरी कुल ६ अर्ब २६ करोड ९७ लाख रुपैयाँ सेयरमा लगानी गरेको छ ।

साथै, सो अवधिमा सबैभन्दा कम सेयरमा लगानी मेट लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले सो अवधिमा सुचिकृत पब्लिक कम्पनीको साधारण सेयरमा १० लाख रुपैयाँ लगानी गरेको हो ।


क्लिकमान्डु