काम नगर्ने ५ ठेकेदार कम्पनीलाई कारबाहीको तयारी
काठमाडौं । तोकिएको समयमा काम नगरेको भन्दै ५ ठेकेदारलाई कारबाही गर्ने अगाडि बढाइएको छ ।
सडक डिभिजन कार्यालय शिवनगरले संशोधित कार्यतालिका अनुसार काम नगरेको पाइएपछि ठेक्का किन नतोड्ने भन्दै बिहीबार सार्वजनिक सूचनामार्फत चेतावनी दिएको छ ।
सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ तथा ठेक्का सम्झौतामा भएका प्रावधान अनुसार तोकिएको समयमा काम नगरेकाले उनीहरुलाई कारबाही गर्न लागिएको हो ।
यसरी कारबाही गर्न लागिएको ठेकेदारहरुमा विजय निर्माण सेवा बुटवल, गुप्ता निर्माण सेवा दाङ, एक्टिभ मोर्डन÷कामाख्या जेभी, केपी कन्स्ट्रक्सन अर्घाखाँची र अहमद हुसेन कन्स्ट्रक्सन छन् ।
विभिन्न सडक निर्माण आयोजनाको ठेक्का लिएका ती ठेकेदार कम्पनीले कार्यतालिका अनुसार काम नगरेको भरपर्दो स्रोत परिचालन योजना नबनाएको पाइएकाले उनीहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन कार्यालयल शिवनगरले जनाएको छ ।
कार्यालयका अनुसार ठेक्का सम्झौताको सर्तमा रहेको दफा ५८ बमोजिम ठेक्का तोडिने र प्रचलित कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।