आइशोलेसन निर्माण गर्न सरकारले स्थानीय तहलाई दियो ३८ करोड
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड-१९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
बुधबार प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरुसँग भर्चुवल बैठक गर्दै मन्त्री ढकालले कोभिड–१९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताए ।
उनले जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले कोभिड-१९ को अहिलेसम्म कुनै खोपको विकास नभैसकेका कारण सावधानी अपनाउनुको विकल्प नभएकाले त्यसका लागि प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।
मन्त्री ढकालले संघीय सरकारले आवश्यक सबै खालका सहायोग गर्न तयार रहेको भन्दै समस्या समाधानका लागि व्यवहारिक रुपमै प्रभावकारी काम हुनुपर्ने बताए । उनले कोभिड अवस्था रहेसम्म जोखिम भत्ता र बीमाको कुरा जारी रहने बताए । प्राविधिक कारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भएपनि कोभिड १९ को लडाइँमा काम गरेका मान्छेले भत्ताबाट बिमुख हुननपर्ने बताए ।
मन्त्री ढकालले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८ हजार ५०० जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारणभन्दा बाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवस्था मिलाइने बताए । उनले अहिलेको परिस्थितिमा समय तोकेर नै नमुना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको पनि बताए ।
आइशोलेसन निर्माणका लागि मात्र सरकारले ३८ करोड बजेट प्रदेश सरकार मार्फत स्थानीय तहमा पठाएको स्मरण गर्दै उनले केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनका लागि गृहकार्य भैरहेको जानकारी गराए ।
मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकासमन्त्रीसँग बैठक गर्ने जानकारी दिए । भर्चुअल बैठकमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन मंगोल, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र बागमती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाल सहभागी थिए ।
प्रदेश १ का सामाजिक विकासमन्त्री कोरोना पोजेटिभ भएर आइशोलेसनमा रहेको र र प्रदेश २ का सामाजिक विकासमन्त्री वस्त भएर बैठकमा सहभागी भएनन् ।
सामाजिक विकासमन्त्रीहरुले कोभिड-१९ व्यवस्थानाका लागि व्यापक काम भए पनि प्रभावकारी समन्वयको अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।