६ महिनापछि सेयर बजारमा कट्यो १५ सय को बिन्दु, अनलाइनबाट भयो सर्वाधिक कारोबार
काठमाडौं । नेपालको सेयर बजार बुधबार ६ महिना अघिको अवस्थामा बल्ल पुगेको छ ।
बजार २५.५८ अंकले घटेर १५१०.५७ बिन्दुमा पुगेसँगै बजार ६ महिना अघिको बिन्दु नजिक पुगेको हो ।
फागुन १२ गते नेप्से मापन गर्ने सूचक १५११.८९ बिन्दुमा पुगेको थियो । त्यसपछि पनि निरन्तर बढेको बजार फागुन १८ गते १६२०.२७ बिन्दुमा पुग्यो त्यसपछि बजारले त्यो भन्दा माथी आफ्नो उचाई लिन सकेन ।
१६२०.२७ अंकबाट घटेको बजार ६ महिना यतिको न्यून बिन्दु ११७८.१५ बिन्नुसम्म आएको थियो । त्यसपछि बिस्तारै बिस्तारै बढन थालेको बजारले लगानीकर्ताको १५ सयको मनोवैज्ञानिक रेखा पार गरेको छ ।
यो दिनको कारोबारमा ठूलो कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.२५ अंकले बढेर ३०४.६० बिन्दुमा रोकिएको छ ।
१८६ कम्पनीको ९६ लाख ८६ हजार ९ कित्ता सेयर ४ अर्ब १८ करोड १० लाख ३६ हजार ११५ रुपैयाँको सेयर कारोबार भएको छ । पूर्ण अनलाइनबाट भएको कारोबारमा यो नै सबै भन्दा बढी हो । बुधबार बैंकिङ समुह १९.७८, विकास बैंक २६.४५, जलविद्युत ९४.४५, माइक्रोफाइनान्स १७.२८ अंकले बढेको छ । निर्जीबन बीमा भने १२५.८९ र जीवन बीमा समूहको उपसूचक ८८.६८ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६७ करोड ४२ लाख ४२ हजार २५४ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा शिखर इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।
यो दिनको कारोबारमा ८ वटा कम्पनीको सेयर कारोबार १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने जम्मा ३१ वटा कम्पनीको सेयर ९ प्रतिशत भन्दा बढीले बढेको छ । सकारात्मक सर्किट लाग्नेमा सबै जलविद्युत कम्पनी रहेका छन् ।