सेयर बजारमा वृद्धि, बैंकिङ उपसूचकमा देखिएन सुधार
काठमाडौं । विगत एक महिना यता नेपालको सेयर बजारमा ४४ अंकको बढोत्तरी भएको छ । गत साउन १८ गते नेप्से इन्डेक्स १४०६.५६ बिन्दुमा थियो । त्यसको एक महिनापछि भदौ १४ गतेसम्म आइपुग्दा ४४ अंकले बढेर १४५०.५३ बिन्दु कायम भएको छ ।
यो अवधिमा बजारमा निकै उतार चढाव देखिएको छ । एक महिनाको अवधिमा बजारमा धेरै नै उतारचढाव देखिएको हो । यो अवधिमा बजारमा ४४ अंकको सुधार देखिए पनि सेयर बजारमा आफ्नो ८० प्रतिशतभन्दा बढी स्थान ओगटेको बैंकिङ समूहको उपसूचकमा भने सुधार देखिएको छैन ।
एक महिना अघि अर्थात साउन १८ गते बैंकिङ समूहको उपसूचक १२०६.६३ बिन्दुमा थियो । एक महिनापछि १२०९.८० बिन्दुमा पुगेको छ । यो अवधिमा बैंकिङ समूहको उपसूचक जम्मा ३.१७ अंकले मात्रै बढेको छ ।
साउन १८ गतेपछि बैंकिङ समूहको उपसूचकमा देखिएको गिरावट ११७५.६५ बिन्दुसम्म पुग्यो । त्यसपछि बिस्तारै बढ्न थालेको बजार साउन २७ गते १२१७.६६ बिन्दुमा पुगेर पुनः घटेको थियो ।
यो एक महिनाको समयमा बैंकिङ समूहको उपसूचक सबैभन्दा न्यून भदौ भदौ ३ गते ११७५.५२ बिन्दुमा पुगेको थियो । त्यसपछि पुन बजारमा सुधार देखिन थालेको थियो । बिस्तारै बढन थालेको बजार भदौ ११ गते सबैभन्दा उच्च बिन्दु १२२३.६३ बिन्दुमा पुगेको थियो ।
त्यसपछि पुन बैंकिङ समूहको उपसूचकमा गिरावट आएर १२०९.८० बिन्दुमा रोकिएको छ । पछिल्लो समयमा कोरोनाका कारण बैंकहरुको नाफामा गिरावट र्आको छ । बैंकको नाफामा उल्लेख्य सुधार आउन सकेको छैन ।
बैैंकहरुको नाफाका साथै वितरणयोग्य नाफा कम हुँदा बैकिङ समूहमा लगानीकर्ताको ध्यान कम गएको तर्क लगानीकर्ताको छ । गत वर्षको वित्तीय विवरण अनुसार यो वर्ष बैंकहरुको लाभांश दिन सक्ने क्षमता न्यून भएका कारण सेयर लगानीकर्ताको ध्यान पनि अन्य कम्पनीमा देखिएको छ । जसका कारण एक महिनामा बैंकिङ समूहको उपसूचक ३.१७ अंकले मात्र बढेको छ ।