प्रचण्डका घरबेटीले मल ल्याउन नसकेपछि बंगलादेशको भर पर्नुपर्ने, प्रधानमन्त्री तहमै वार्ता गर्ने तयारी



काठमाडौं । ठेकेदारका बदमासीका कारण नेपालको प्रमुख धानबाली लगाउने समयमा रासायनिक मल प्राप्त हुन नसकेपछि सरकारले बंगलादेशसँग उच्च कुटनीतिक पहल गर्ने तयारी गरेको छ ।

पछिल्ला विवरणहरु अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका आफ्ना समकक्षी शेख हसिनासँग नै वार्ता गरी तत्कालका लागि ५० हजार मेट्रिक टन मल उपलब्ध गराइदिन आग्रह गर्न लागेका हुन् ।

बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रको पहलमा दुई प्रधानमन्त्रीबीच वार्ता गराउने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयका दक्षिण एशिया हेर्ने महाशाखाका एक अधिकारीका अनुसार बंगलादेशका प्रधानमन्त्रीको समय मिल्ने बित्तिकै वार्ता गर्ने तयारी गरिएको छ ।

यही भदौको पहिलो सातासम्म रासायनिक मल आयात गर्ने गरी सरकारले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई ठेक्का दिएको थियो । उनीहरुले कोरोनाको कारण देखाएर रासायनिक मल आयात गर्न सकेका छैनन् । बरु उनीहरुले मल आयातको म्याद थप गराउन लविङ समेत शुरु गरेको समाचार सार्वजनिक भएको छ ।

विभिन्न निर्माणका ठेक्का अलपत्र पारेका अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई घर भाडामा दिएका व्यापारी हुन् ।  उनले जिम्मा लिएका कुनै पनि काम समयमै सम्पन्न गरेको रेकर्ड नै छैन ।

भक्तपुरको नगरकोट जोड्ने सडक देखि काठमाडौँ नागढुंगा सडक समेत लामो समय अलपत्र पारेका अधिकारीले लो बिडिङमा टेन्डर पारेको कृषि विकास मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

आर्थिक प्रस्ताव मात्रै मूल्यांकन गरेर ठेक्का दिँदाको परिणाम यतिबेला किसानले मल नपाएर भोग्नु परेको छ । सार्वजनिक खरिद ऐनमा रहेको लुपहोलका कारण आर्थिक प्रस्ताव मात्रै मूल्यांकन गर्ने तर प्राविधिक प्रस्तावमा भने कुनै पनि मूल्यांकन नगर्ने परिपाटीका कारण जस्ताले पनि ठेक्का पाउने अवस्था रहेको छ ।

समयमै मनसुनका कारण राम्रो पानी परेका कारण यस वर्ष कूल खेतीयोग्य जमिनको झण्डै ९८.३७ प्रतिशतमा धान खेती भएको छ । धान खेती भएपनि किसानले मल प्राप्त नगर्दा समस्या पैदा भएको छ ।

तोकिएको समयमा मल नपाउँदा किसानले कोरोना कालमा समेत प्रदर्शन गरेका छन् । अधिकारी र कोइरालाले कूल ५० हजार मेट्रिक टन मल ल्याउने गरी ठैक्का लिएका थिए । उनीहरुले तोकिएको समयमा काम नगरेपछि उनीहरुलाई कारवाही गर्ने तयारीमा सरकार पुगेको छ ।

ठेकेदारले मल ल्याउन नसकेपछि प्रधानमन्त्री तहमा नै कुरा गरेर भएपनि तत्कालका लागि पैचो वा सापटीमा मल ल्याउने तयारी थालिएको हो । कृषि मन्त्री घनश्याम भुसालको पहलमा प्रधानमन्त्रीसँग समेत सहमति लिएर बंगलादेशबाट मल ल्याउने तयारी थालिएको हो ।

नेपालले तत्काल मल उपलब्ध गराइदिन चीन, भारत जस्ता मुलुकलाई आग्रह गरेको भएपनि बंगलादेशले मात्रै सहमति जनाएको कृषि विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशको प्रधानमन्त्रीको समय मिल्ने बित्तिकै वार्ता गर्ने र तत्कालका लागि ५० हजार मेट्रिक टन मल उपलब्ध गराउने तयारीमा सरकार रहेको छ । बंगलादेशका अधिकारीले मल कुन मार्गबाट कसरी लैजाने भन्ने विषयमा समेत नेपालसँग पूर्ण विवरण माग गरेको बताइन्छ ।

नेपालमा कूल २६ लाख ४१ हजार हेक्टर कृषियोग्य भूमि हो । कूल १७ लाख ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने सरकारको लक्ष्य छ । कूल जनसंख्या मध्ये ७३ प्रतिशत जनता कृषिमा आश्रित छन् । तर , वार्षिक रुपमा झण्डै २ खर्ब ५० अर्ब बराबरको कृषि उपज आयात हुने गरेको छ ।

कृषि सामग्री कम्पनीका अनुसार शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई मल ल्याउन दिइएको अन्तिम समयसीमा यही भदौ २० गते सकिने भएको छ । कृषि सामग्री कम्पनीले २५ हजार मेट्रिक टन यूरिया ल्याउन गत पुस २८ गते अर्को लटमा २५ हजार मेट्रिक टन मल ल्याउन गत माघ ४ गते ठेक्का पाएको कृषि मन्त्रालयले जनाएको छ ।

ठेक्का पाएको लामो समयसम्म पनि मल नल्याएको तथा पछिल्ला दिनमा कोरोनाका कारण नसकिएको भन्दै उनीहरुले सरकारसँग थप ३ महिना समय मागेको बताइन्छ । त्यसो त सरकारी स्वामित्वको साल्ट ट्रेडिङले भने झण्डै २३ हजार मेट्रिक टन मल ल्याइसकेको छ ।


क्लिकमान्डु