स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा सञ्चालनमा आउने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा नेपाल स्काउट, नेपाल चिकित्सक संघ र हिसानले उपत्यकाका बिभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लागि निःशुल्क बससेवा सञ्चालनमा आएको छ ।
उपत्यका भित्रका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको यातायात सहजताकलागि निःशुल्क बससेवा सुरु गरिएको नेपाल स्काउटका राष्ट्रीय संयोजक तथा हिसानका महासचिब लोकबहादुर भण्डारीले जानकारी दिए ।
पछिल्लो समय कोरोना संक्रमणको संख्या अत्याधिक बढेको र करिव २ सातादेखि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै मन्त्रालयको समन्वयमा स्वास्थ्यकर्मीका लागि अस्पताल आवतजावत गर्न निःशुल्क बससेवा सुरु गरिएको भण्डारीले बताए ।
केही दिनअघि स्वास्थ्यत तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग अभियान संचालनका बिषयमा आयोजक संस्थाका प्रतिनिधिहरूले छलफल र परामर्श गरेका थिए । स्वास्थ्यमन्त्री ढकालसँग भएको छलफलको निश्कर्ष अनुसार निशुल्क बससेवा सुरू गरेको भण्डारीले बताउनुभयो । उहाँले अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि सोमबारदेखि नै निःशुल्क बससेवा सुरु गरिएको बताए ।
सवारी साधनका कारण स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्यकर्मीमा कुनै बाधा नपरोस भनेर निःशुल्क बससेवा सुरु गरिएको हो । हिजोदेखी सुरु गरिएको यस कार्यमा सुरुमा ३ वटा बसले सेवा दिएका छन । आवश्यक भएमा बस थप्न सकिने भण्डारी बताए ।
सबै बसहरुमा स्काउटका स्वएमसेवकहरू परिचालित भएका छन । तालिका अनुसार बस विहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म र साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म संचालनमा आउनेछन् ।
यी बसहरुले अस्पताल क्षेत्रको रुटबाट सेवा शुरु गर्नेछन् । बाँसबारीबाट सुरु हुने बस टिचिङ, कान्ति वाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म पुग्नेछन् । यस्तै दोस्रो बस पाटन अस्पतालदेखि सुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति वाल अस्पताल, टिचिङ अस्पताल हुँदै पुनः बाँसबारीसम्म चल्नेछ ।
यसैगरि तेस्रो बसले बस चक्रपथ परिक्रमा गर्नेछ । बसबारे आवश्यक जानकारी लिनु परेमा वा केही समस्या परे ११४७ हटलाइन नम्बरमा फोन गर्नसमेत सम्बन्धित संस्थाहरुले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । यस किसिमको बस सेवाले स्वास्थ्यकर्मीहरुले ठूलो राहतको अनुभव गरेका छन् ।