जीवन बीमा कम्पनीका अभिकर्ताले गत वर्ष बुझे १० अर्ब ६२ करोड कमिसन



काठमाडौं । सञ्चालमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमा अभिकर्तालाई दिने कमिसन बढेको छ ।

कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको तथ्याङक हेर्दा जीवन बीमा कम्पनीका अभिकर्ताले पाउने कमिशन १७.२७ प्रतिशतले बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ५ करोड ९० लाख ९४ हजार ७३९ रुपैयाँ अभिकर्तालाई कमिसन दिएकोमा गत वर्ष भने बढेर १० अर्ब ६२ करोड ३८ लाख ८५ हजार ६९४ रुपैयाँ पुगेको छ ।

जीवन बीमा कम्पनीहरुको व्यवसाय राम्रो भएसँगै एजेन्टहरुले पाउने कमिसनको रकम पनि बढेको देखिएको छ । जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय विस्तार गर्नका लागि एजेन्टहरुको महत्वपूर्ण भूमिका हुने गर्दछ ।

हाल बीमा क्षेत्रमा साढे ६ लाखको हाराहारीमा अभिकर्ता रहेको भनिए पनि क्रियाशिल अभिकर्ता २ लाख ३५ हजार अभिकर्ता रहेको बीमा समितिको भनाइ छ ।

यो अवधिमा अभिकर्तालाई दिने कमिसन बढाउने जीवन बीमा कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ । महालक्ष्मीले अभिकर्तालाई दिने कमिशन २९३.६९ प्रतिशतले बढाएर ११ करोड १४ लाख ९४ हजार ४६ रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष २ करोड ८३ लाख १९ हजार ९०३ रुपैयाँ रहेको थियो ।

यस्तै प्रभु लाइफ इन्स्योरेन्सको ८४ प्रतिशत, सिजिजन लाइफको ८०.२२ प्रतिशत, युनियन लाइफले अभिकर्तालाई दिने कमिसन ७२.६५ प्रतिशतले बढेृको छ ।

यो अवधिमा लाइफ इन्स्योरेन्स ०.१९, एशियन लाइफ इन्स्योरेन्स ३.७१, गुँरास लाइफको ०.७५, मेट लाइफ इन्स्योेरेन्सको ६.१३ प्रतिशतले घटेको छ ।

कम्पनीको वित्तीय विवरण हेर्दा अभिकर्तालाई अर्ब रुपैयाँभन्दा बढी कमिसन दिने बीमा कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र नेपाल लाइफ इन्स्योरेन्स मात्रै छ । कर्पोरेशनले गत वर्ष १ अर्ब ५५ करोड ९६ लाख ७४ करोड १३३ रुपैयाँ कमिसन दिएको छ । तर पनि कम्पनीले अभिकर्तालाई दिने कमिसनमा भने ०.१९ प्रतिशतले घटेको छ ।

यस्तै नेपाल लाइफले आफ्ना अभिकर्तालाई ३ अर्ब १४ करोड ४३ लाख ८४ हजार ६८० रुपैयाँ कमिसन दिएको छ । यो अवधिमा इन्स्योरेन्सले अभिकर्तालाई दिने कमिसनमा ११.५३ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष सबैभन्दा कम प्राइम लाइफको ५.४३, सूर्या लाइफको ६.४६, नेशनल लाइफको ८.६० प्रतिशतले बढेको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालका बीमा कम्पनीहरुमा पनि असर देखिएको छ । कोरोनाका कारण जीवन बीमा ब्यवसायमा परेको केही असरले गर्दा अभिकर्ताहरुको कमिसनमा पनि केही कमी आएको बीमा कम्पनीका अधिकारीहरुको तर्क रहेको छ ।

जसले गर्दा अभिकर्तामा जाने कमिसन अपेक्षा अनुसार नगएको जानकारहरुको तर्क छ ।


क्लिकमान्डु