इजरायलमा भेटियो ११ सय बर्ष पूरानो सुनको सिक्का
काठमाडौं । मध्य इजरायलमा एउटा पुरातात्विक स्थलमा काम गरिरहेका एक स्वयंसेवी युवकले ४२५ वटा प्राचीन असर्फी फेला पारेका छन् ।
ती असर्फी गाडधन भएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।
जानकारहरुका अनुसार ती सुनका सिक्का झण्डै १,१०० वर्षअघि माटोको एउटा भाँडोमा राखेर त्यस स्थानमा गाडिएको विश्वास गरिएको छ ।
विवरण अनुसार ती सिक्काको कुल तौल ८४५ ग्राम भएको बताइन्छ ।
जति बेला ती सिक्काहरू गाडियो त्यति बेला त्यो ठूलो धन थियो र त्यसले उक्त क्षेत्रमा एउटा भव्य घर किन्न पुग्ने अनुमान गरिएको समाचारहरुमा जनाइएको छ ।
कसले ती सिक्काहरू लुकायो र किन पछि झिकेन भन्ने कुरा रहस्यकै गर्भमा छ ।
एघार सय वर्षअघि यो धन गाड्ने व्यक्तिले पछि निकाल्ने विचार गरेको हुनुपर्छ । उसले उक्त भाँडो नसरोस भनेर काँटी पनि ठोकेको पाइएको छ ।
इजरायलका पुरातत्व हेर्ने निकायमा उत्खनन विभागका निर्देशकहरू लियाट नादाभ जिभ र एली हाड्डाले एउटा विज्ञप्तिमा जनाएको बिबिसीले जनाएको छ ।
उनीहरूका अनुसार त्यति ठूलो परिमाणमा सुनका सिक्का फेला पर्नु दुर्लभ मानिएको छ ।
सुन धेरै मूल्यवान भएकाले पुस्तौंदेखि पगालेर फेरि प्रयोग गरिने भएकाले हामी पुरातात्विक उत्खननमा प्रायः सुनका सिक्का नभेटिने उनले बताए ।
ती असर्फीहरू फेला पार्ने युवक ओज कोहेनले आफूले पहिला भुइँ खनेर माटो निकालेपछि मसिनो पातजस्तो वस्तु देखेको बताए ।
‘फेरि हेर्दा ती वस्तुहरू सुनका सिक्का पो रहेछन’ उनले भने ।
प्राचीन सिक्काका जानकार रोबर्ट कूलका अनुसार उक्त गाडधनमा सुनले बनेका दिनार बाहेक २७० वटा सुनका साना टुक्रा पनि थिए । ती टुक्राहरू असर्फी काटेर खुद्रा पैसाका रूपमा प्रयोग गरिन्थ्यो । बिबिसी