कोरोना बीमाले बढायो निर्जीवन बीमा कम्पनीको व्यावसाय, १ महिनामा २ अर्ब ७० करोड बीमाशुल्क आर्जन



काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय कोरोना बीमाले बढाएको छ । कोरोना महामारीमा चौतर्फीरुपमा आर्थिक क्रियाकलापमा नकारात्मक असर परेसँगै प्रायः क्षेत्रका व्यापार व्यवसाय घटेको छ ।

यसबीचमा जीवन बीमा कम्पनीकोे व्यवसाय ३.५५ प्रतिशतले घट्दा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय भने कोरोनाकै कारण १०.८९ प्रतिशत बढेकोे देखिन्छ ।

निर्जीवन बीमा कम्पनीहरुले अग्नी, मोटर, सामुन्द्रिक, हवाई, कृषि तथा बाली, इन्जिनियरिङ तथा अन्य विविध बीमाका साथै कोरोना बीमालेख समेत बिक्री गर्दै आएका छन् ।

चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिना अर्थात् साउनमा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा १०.८९ प्रतिशत अर्थात २६ करोड ५२ लाख रुपैयाँ बढी हो । गत आवको साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ४३ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

जीवन बीमा कम्पनीहरुको व्यवसाय गत आवको पहिलो महिनाको तुलनामा चालु आवको सोही अवधिमा ३.५५ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका २० वटा जीवन बीमा कम्पनीहरुले गत आवको साउन महिनामा १० अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । जुन चालु आवको सोही अवधिमा ३.५५ प्रतिशतले घटेर १० अर्ब १४ करोड रुपैयाँ सीमित भएको छ ।

बीमा समितिले बैशाख पहिलो साताबाट निर्जीवन बीमा कम्पनीहरुमार्फत् कोरोना बीमा शुरु गरेको थियो । जसमा कम्पनीहरुले बीमा कम्पनीहरुले कोरोना बीमा लेख ५ हजार रुपैयाँ र १ लाख रुपैयाँ गरी दुई प्रकारका बीमा लेख बिक्री गर्दै आएका छन् ।

कोरोना बीमा शुरु भएपछि निर्जीवन बीमा कम्पनीहरुले हालसम्म ८ लाख ४ हजार ३ सय ६१ जनाको ४५ करोड २२ लाख ६७ हजार ४८२ रुपैयाँ बराबरको कोरोना बीमा शुल्क संकलन गरेको छन् ।

बीमा समितिबाट उपलब्ध तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमध्ये १९ वटा कम्पनीले २ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

समितिले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको सो अवधिको बीमा शुल्क संकलनको विवरण समावेश गरिएको छैन् । हालसम्म राष्ट्रिय बीमा कम्पनीले १ करोड ७३ लाख ७० हजार रुपैयाँ कोरोना बीमा शुल्क संकलन गरेको छ ।

चालु आवको पहिलो महिनामा ३ वटा निर्जीवन बीमा कम्पनीले २० करोड रुपैयाँ बढी र १० वटा कम्पनीले २० करोड रुपैयाँ भन्दा कम १० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।

सो अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले हालसम्म कोरोना बीमा गरे वापत ८ करोड ६२ लाख रुपैयाँ बढी बीमा शुल्क संकलन गरेको छ ।

सो अवधिमा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीको सुचीमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी छ । कम्पनीले सो चालु आवको साउन महिनामा २३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । हालसम्म कम्पनीले कोरोना बीमा वापत भने ३ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी, नेको इन्स्योरेन्सले चालु आवको साउन महिनामा २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीको हालसम्म कोरोना बीमा शुल्क संकलन भने २ करोड ७४ लाख रुपैयाँ बढी छ । साथै, एनएलजीले चालु आवको साउनमा १८ करोड कुल बीमा शुल्क र हालसम्म २ करोड ४१ लाख बढी कोरोना बीमा शुल्क संकलन गरेको छ ।

प्रिमियर इन्स्योरेन्सको साउनमा कुल बीमा शुल्क १८ करोड र हालसम्मको कोरोना बीमा शुल्क १ करोड ७९ लाख बढी छ । ओरियन्टल इन्स्योरेन्सले चालु आवको पहिलो महिनामा १४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ भने हालसम्म ६९ लाख रुपैयाँ बढीको कोरोना बीमा शुल्क वापत प्राप्त गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले साउन महिनामा १३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले हालसम्म २ करोड ४ लाख रुपैयाँ कोरोना बीमा शुल्क संकलन गरेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको सो साउन महिनामा १२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन र हालसम्म ८१ लाख रुपैयाँ कोरोना बीमा शुल्क संकलन छ ।

प्रभु इन्स्योरेन्सले साउन महिनामा ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ भने हालसम्म १ करोड ४६ लाख रुपैयाँ बढी कोरोना बीमा शुल्क संकलन गरेको छ । आइएमई जनरल इन्सयोरेन्सले चालु आवको साउन महिनामा ११ करोड बीमा शुल्क संकलन गरको छ भने, हालसम्म २ करोड ६६ लाख बढी कोरोना बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी अजोड र नेपाल इन्स्योरेन्सले साउन महिनामा ११÷११ करोड रुपैयाँ कुल बीमा शुल्क आजेन गरेका छन् । यी कम्पनीले हालसम्म क्रमशः ३ करोड ५ लाख र १ करोड ४९ लाख रुपैयाँ बढी कोरोना बीमा शुल्क संकलन गरेका छन् ।

चालु आवको साउन महिनामा एभरेष्ट इन्स्योरेन्सले १० करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ८ करोड रुपैयाँ र जनरल इन्स्योरेन्सले ७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले हालसम्म क्रमशः १ करोड ६१ लाख रुपैयाँ, १ करोड ८४ लाख रुपैयाँ र ९१ लाख रुपैयाँ कोरोना बीमा शुल्क संकलन गरेका हुन् ।

साथै, हिमालयन जलनरले ६ करोड रुपैयाँ र सानिमा जनरल इनस्योरेन्सले ४ करोड रुपैयाँ साउन महिनामा बीमा शुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले हालसम्म क्रमशः २ करोड ७० लाख रुपैयाँ र ७६ लाख रुपेयाँ बढी कोरोना बीमा शुल्क संकलन गरेका हुन् ।


क्लिकमान्डु