कोरोना बीमाः ५९९ बीमितद्वारा ५ करोड ७२ लाख दाबी, कुन कम्पनीमा कति ?



काठमाडौं । कोरोना बीमामा ५ करोड ७२ लाख ५० हजार रुपैयाँको दाबी परेको छ । निर्जीवन बीमा कम्पनीमार्फत् गत बैशाखबाट शुरु भएको कोरोना बीमामा हालसम्म कुल ५९९ जना बीमितले भुक्तानी दाबी गरेका हुन् ।

जसमध्ये १०८ जना बीमितले १ करोड १ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी पाइसकेका छन् । साथै, ४९१ जना बीमितको ४ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी बाँकी छ ।

हालसम्म बीमा कम्पनीहरुले ८ लाख ४ हजार ३६१ जनाको ४५ करोड २२ लाख ६७ हजार ४८२ रुपैयाँ बराबरको कोरोना बीमा गराएर प्रिमियम संकलन गरेका छन् ।

बीमा कम्पनीहरुले कोरोना बीमा लेख ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ गरी दुई प्रकारका बीमा लेख बिक्री गर्दै आएका छन् । बजेटमा सरकारी कर्मचारीको १ लाख रुपैयाँसम्मको कोरोना बीमा शतप्रतिशत अनुदानमा र सर्वसाधारणको ५० प्रतिशत सरकारी अनुदानमा गराउने उल्लेख थियो ।

बीमा समितिले सोको कार्यविधि बनाएर लागू गरिसकेको छ । हाल सोही अनुसान नै बीमा कम्पनीहरुले कोरोना बीमा गरिरहेका छन् ।

कम्पनीहरुमा हालसम्म परेको दाबीमध्ये ५० हजार रुपैयाँको ५३ वटा र बाँकी सबै १ लाख रुपैयाँको परेको छ । जसमध्ये ५० हजार रुपैयाँका १३ वटा बीमा दाबी वापत ६ लाख ५० हजार रुपैयाँ र १ लाख रुपैयाँको बीमा लेखमा परेका ९५ वटा दाबी वापत ९ लाख ५० हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

बीमा कम्पनीमा हालसम्म परेको कोरोना बीमा दाबीमा २ लाख रुपैयाँ बराबरको ५० हजार रुपैयाँ बीमा लेखको र ४ करोड ५१ लाख रुपैयाँ बराबरको १ लाख रुपैयाँ बीमा लेखका दाबी भुक्तानी दिन बाँकी छ ।

कोरोना दाबीको दायित्व
शुरुवातमा बीमा पुलअन्तर्गत रहेर दाबीको दायित्व बहन गर्ने सम्झौता गरी कोरोना बीमा सञ्चालनमा ल्याइएको थियो । जसमा २० प्रतिशत पुनर्बीमा कम्पनीले र ८० प्रतिशत २० वटा बीमा कम्पनीहरुले ४/४ प्रतिशत गरेर दाबी भुक्तानी गर्नुपर्ने थियो । तर कोरोना संक्रमितको संख्या बढेसँगै यसको दायित्वको मोडालिटी पनि परिवर्तन गरियो ।

हाल कोरोना बीमाको दायित्व सरकार, बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुले बहन गर्ने सम्झौता भएको छ ।

अर्थमन्त्रालय, बीमा समिति र बीमक संघबीच भएका सम्झौताअनुसार पहिलो १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी पूलअन्तर्गत दाबी भुक्तानी गर्नेछन् । त्यसपछि १ अर्ब रुपैयाँ पुनर्बीमा कम्पनीले, त्यसपछिको ५० करोड रुपैयाँको दाबी बीमा कम्पनीहरुले आफ्नो महाविपत्ती कोषबाट बहन गर्नेछन् ।

यसैगरी २ अर्ब ५ करोड रुपैयाँमाथिको १ अर्ब रुपैयाँ बीमा समितिले दायित्व लिनेछ भने सोभन्दामाथि परेको दाबीको दायित्व सरकारले बहन गर्नेछ । दायित्व बहनको आधारमा सरकारले घोषणा गरेको कोरोना बीमा कार्यक्रमको कार्यविधि बनाइएको बीमा समितिले जानकारी दिएको छ ।

कुन कम्पनीमा कति कोरोना दावी
हालसम्म सबैभन्दा बढी शिखर इन्स्योरेन्समा कुल १ सय ६३ वटा कोरोना दाबी परेको छ । जसमध्ये कम्पनीले १५ वटा दाबीको १४ लाख ५० हजार रुपैयाँ बराबर दाबी भुक्तानी गरिसकेको छ भने १४८ वटा दावी वापत १ करोड ४३ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यस्तै, नेको इन्स्योरेन्समा हालसम्म ७९ लाख रुपैयाँ बराबरको ८२ वटा कोरोना बीमा दाबी परेको छ । जसमध्ये कम्पनीले २१ वटा दाबीको १९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

हालसम्म लुम्बिनी इन्स्योरेन्समा ६६ लाख ५० हजार रुपैयाँ बराबरको ६७ वटा कोरोना बीमा दाबी परेको छ । जसमध्ये कम्पनीले १९ वटा दाबीको १८ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ भने ४८ वटा दाबीको ४८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कोरोना बीमा गर्ने कम्पनीमध्ये हालसम्म अजोडमा २२ वटा, एभरेष्टमा १ वटा, जनरलमा इन्स्योरेन्समा ६ वटा, हिमालयनमा २६ वटा, आइएमई जनरलमा १५ वटा, नेशनलमा ११ वटा, नेपाल इन्स्योरेन्समा २२ वटा र एनएलजीमा ५३ वटा कोरोना बीमा दाबी परेको छ ।

यसैगरी, ओरियन्टल इन्स्योरेन्समा १३ वटा, प्रभु इन्स्योरेन्समा १३ वटा, प्रिमियरमा २७ वटा, पुड्रेन्सियलमा १३ वटा र राष्ट्रिय बीमा कम्पनीमा ८ वटा कोरोना दाबी परेको छ । साथै, सगरमाथा इन्स्योरेन्समा १६ वटा, सानिमा जनरलमा १४ वटा, सिद्धार्थ इन्स्योरेन्समा १२ वटा र युनाइटेड इन्स्योरेन्समा १५ वटा कोरोना दावी परेको छ ।

कुन कम्पनीले कति दाबी भुक्तानी गरे (सूचीमा)


क्लिकमान्डु