कुलमानले भने- म एक्लैले लोडसेडिङ हटाएको होइन, प्रधानमन्त्रीको निर्देशनले काम गर्यो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य आफ्नो व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभएको बताएका छन् ।

लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु नै भएको उनको भनाइ छ ।

यस्तै, आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य गरी संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धी हासिल गर्न सम्भव नभएको घिसिङले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मन्त्रिपरिषद्ले २०७३ भदौ २९को निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो ।

घिसिङले अर्को कार्यकालका लागि पुनः नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुनलाई जोडेर विगत केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति गुनासो गरेका छन् ।

उनले आफ्नो गलत अकाउण्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

उनले आफ्नो अर्को कार्यकालको पुनःनियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफुलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना तथा समाचार सम्प्रेषण नगरिदिन अनुरोध गरेका छन् ।

‘नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएका छन््,’ घिसिङले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्न निरन्तर क्रियाशिल रहेको बबताए ।

उनले प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाईजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको सेयरधनी कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको उनको विज्ञप्तीमा उल्लेख छ ।


पुष्प दुलाल