कोरोना कहरः पर्यटन मन्त्रालयको प्रगति ६० प्रतिशत मात्रै




काठमाडौं । गत आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रगति ६० प्रतिशतमा सीमित भएको छ ।

मंगलबार पर्यटन मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री योगेश भट्टराईले कोरोनाका कारण ६ महिना अपेक्षाकृतरुपमा काम गर्न नपाएकाले प्रगति ६० प्रतिशतमा मात्रै सीमित भएको बताए ।
‘कोरोनाको असर नपरेको भए प्रगति विवरण ९० प्रतिशत बढी हासिल हुन्थ्यो,’ उनले भने ।

मन्त्री भट्टराईले कोरोनाको महामारी नभएको भए भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भइसकेको हुने थियो भन्दै त्यसका लागि विनियोजित साढे ३ अर्ब रुपैयाँ राम्रोसँग खर्च नभएको बताए ।

भैरहवाको विमानस्थलको हालसम्म ९१ प्रतिशत काम सकिएको बताउँदै उनले कोरोनाका कारण विदेशबाट आउने दक्ष जनशक्ति आउन नपाएकाले काम रोकिएको उल्लेख गरे ।

उनका अनुसार विदेशबाट आउनु पर्ने सबै सामान र जनशक्ति आएको अवस्थामा ३ महिनाभित्र निर्माण सम्पन्न हुने छ ।

यद्यपि कोरोनाको महामारी सँगै पछिल्लो ६ महिनामा पनि स्थानीय तहसँग समन्वय गर्दै भौतिक पूर्वाधार निर्माणका काम भने चलीरहेको उनले बताए ।

‘ पुँजिगत खर्च हुने समयमा कोरोना महामारीका कारण काम हुन पाएन, जसले गर्दा पुँजिगत, वित्तीय प्रगति अपेक्षाकृत हुन सकेन, औसतमा ६० प्रतिशत प्रगति हासिल भएको छ,’ उनले भने ।

मन्त्री भट्टराईले निजगढ विमानस्थलको हकमा हालसम्म ६० हजार रुखको गणना भइसकेको जानकारी दिए ।

गत आवमा निजगढ विमानस्थलका लागि विनियोजन गरिएको डेढ अर्ब रुपैयाँ पनि प्रभावकारीरुपमा खर्च गर्न नसकिएको जानकारी दिए । उनले कोरोनाका कारण रुख गणना र बस्ती स्थानान्तरणमा ढिलाइ भएको बताए ।


पुष्प दुलाल