अर्थका सहसचिव भुसाल पुनर्बीमा कम्पनीको अध्यक्षमा नियुक्त



काठमाडौं । अर्थमन्त्रालयले नेपाल पुनरबीमा कम्पनीको अध्यक्ष पदमा कामकाजको जिम्मेवारी यमलाल भुसाललाई दिएको छ ।

भदौ ५ गतेको मन्त्रीस्तरीय निर्णयबाट भुसाललाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा समेत कामकाज गर्ने जिम्मेवारी दिइएको छ ।

यसअघि कम्पनीको सञ्चालक समितिको सदस्यबाट पुरुषोत्तम सुवेदीलाई अध्यक्षको जिम्मेवारी दिएको थियो । सुवेदीले आन्तरिक कारणले राजीनामा दिइसकेका छन् ।

उनले राजीनामा दिएपछि सञ्चालक समितिको बैठक भएका सञ्चालक समितिका सदस्यमध्ये जेष्ठ सदस्यले अध्यक्षता गर्ने कानूनी व्यवस्था छ । सुवेदीले राजीनामा दिएसँगै जेष्ठ सदस्यले अध्यक्षता गरेर बैठक चलिरहेको थियो ।

पुनरबीमा कम्पनीमा सरकारको भएको लगानी अनुसार सरकारले दुई जना सञ्चालक र एकजना अध्यक्ष मनोनित गर्न सक्ने व्यवस्था छ ।

तीन जनामध्ये एकजना अध्यक्ष तोक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार मन्त्रालयले भुसाललाई अध्यक्ष तोकेको हो ।

भुसाल हाल अर्थमन्त्रालयको सहसचिव हुन् । उनी मन्त्रालयको नीति विश्लेषण महाशाखामा प्रमुख छन् ।

भुसाललाई सोमबार बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले भुसाललाई अध्यक्षको पदभार ग्रहण समेत गराएका छन् ।

यस्तै भदौ ३ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार रमेश लम्साललाई सचालक समितिको सदस्यमा मनोनयन गरिएको छ ।


क्लिकमान्डु