जीवन बीमा कम्पनीको नाफा २९ प्रतिशतले बढ्यो, कुनको कति ?



काठमाडौं । कोरोनाले असर पारेपनि गत वर्ष जीवन बीमा कम्पनीको नाफामा २९.२२ प्रतिशतले वृद्धि भएको छ ।

कोरोना भाइरसको असर नेपालमा असर पारे पनि जीवन बीमा कम्पनीहरुको नाफामा भने राम्रै सुधार देखिएको हो । गत आवमा जीवन बीमा कम्पनीको नाफा भने बढेको हो ।

अघिल्लो वर्ष जीवन बीमा कम्पनीको ३ अर्ब २५ करोड ७ लाख ७१ हजार रुपैयाँ रहेको नाफा गत आवमा आइपुग्दा ४ अर्ब २० करोड ७ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष सबैभन्दा बढी नाफा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कमाएको छ । अघिल्लो वर्षभन्दा गत वर्र्ष महालक्ष्मीको नाफा ८१६.६४ प्रतिशतले बढेको छ ।

यस्तै ज्योती लाइफ इन्स्योरेन्सको नाफा ६४२.४० प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीले जारी गरेको वित्तीय विवरण अनुसार नयाँ जीवन बीमा कम्पनीको नाफामा धेरै सुधार आएको देखिएको छ । नयाँ जीवन बीमा कम्पनीको तुलनामा पुराना इन्स्योरेन्स कम्पनीको नाफा न्यून वृद्धि देखिएको छ ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाल लाइफ इन्स्योरेन्सको नाफा १.३६ प्रतिशतले मात्रै बढेको छ ।

नयाँ जीवन बीमा कम्पनीको तुलनामा पुरानाको नाफामा कम बढोत्तरी देखिएको छ । सोे अवधिमा ४ वटा बीमा कम्पनीको नाफामा भने गिरावट देखिएको छ ।

विवरण अनुसार मेट लाइफको नाफामा ४१.२४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ५५ करोड ८१ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा गत आवमा ३२ करोड ७९ लाख ६७ हजार रुपैयाँमा सिमित भएको छ ।

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफामा पनि २५.८४ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो वर्ष १६ करोड १५ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा गत वर्ष ११ करोड ९७ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ ।यस्तै प्राइम लाइफको नाफामा पनि ४.६४ प्रतिशतले गिरावट आएको छ भने सानिमा लाइफ इन्स्योरेन्सको नाफा ४.१८ प्रतिशतले घटेको छ ।

गत वर्ष १० प्रतिशतभन्दा कम नाफा आर्जन गर्ने जीवन बीमा कम्पनीहरुमा पूर्णसरकारी लगानी रहेको राष्ट्रिय बीमा संस्थानको नाफा ३.५८ प्रतिशत, रिलायबल लाइफ इन्स्योरेन्सको ९.५३ ले मात्रै बढेको छ ।


क्लिकमान्डु