निषेधाज्ञामा पनि बीमा कम्पनी खुल्ने, प्रिमियम बुझाउने समय थपियो

336
Shares

काठमाडौं । सरकारले उपत्यकामा निषेधाज्ञा जारी गरेपनि बीमा कम्पनीहरु भने सञ्चालन हुने भएका छन् । उपत्यकामा कोरोना संक्रमण बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेको हो । त्यो अवधिमा पनि बीमा कम्पनीहरुले दिने सेवा भने निरन्तर कायम रहने छ ।

बीमा समितिले बीमा कम्पनीहरुलाई एक तिहाई कर्मचारीद्वारा सेवाग्राहीलाई सेवा दिन निर्देशन दिएको छ । कम्पनीका सबै कर्मचारीलाई फोटोसहितको परिचय पत्र बोकेर हिँडन पनि आग्रह गरेको छ ।

यो निषेधाज्ञाको समयमा बीमा अवधि सकिएका बीमालेख नविकरण गर्ने समय भदौ १५ गतेसम्म थपेको छ ।

सम्बन्धित बीमितले विद्युतीय माध्यमबाट म्याद थप्न अनुरोध गरेमा बिमालेख नवीकरण गर्ने व्यवस्था भदौ १५ गतेसम्म कायम गर्न समितिले निर्देशन दिएको हो । निषेधाज्ञा अवधिभित्र संकलन गर्नुपर्ने जीवन बिमा प्रिमियम भदौ १५ गतेसम्म संकलन गर्न सकिनेछ । यो अवधिमा कुनै पनि कम्पनीले ब्याज भने लिन पाउने छैनन् ।

समितिको निर्देशनमा बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको समय भदौ मसान्तसम्म थपिएको छ । यस्तै निर्जीबन बीमकले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माभ्यमबाट निवेदन पाएमा निषेधाज्ञाको अवधि सकिएपछि तत्काल सर्भेयर खटाइ क्षतिको यकिन गर्ने व्यवस्थालाई निरन्तरता दिन पनि निर्देशन दिएको छ ।