लगानी बोर्डका सिइओ भट्टलाई काम गर्ने बाटो खुल्यो




काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टलाई काम गर्ने बाटो खुलेको छ ।

उच्च अदालत पाटनले आइतबार यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै भट्टलाई काम गर्न मार्ग प्रशस्त गरिदिएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौड्यालको संयुक्त इजलाशले यसअघि जारी गरिएको अन्तरिम आदेश खारेज गरेसँगै भट्टलाई काम गर्ने बाटो खुलेको हो ।

यसअघि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले भट्टलाई हाजिर नगर्न तथा नगराउन अन्तरिम आदेश दिएको थियो ।

अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्ति गैरकानूनी रहेको दावी गर्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

भट्टका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतिषकृष्ण खरेल र रमणकुमार श्रेष्ठ तथा अधिवक्ताहरू टिकाराम भट्टराई, रमेश बडाल र पदम गिरिलगायतले बहस गरेका थिए । निवेदक भुजेलका तर्फबाट उनीसहित रामकुमार राईलगायतले बहस गरेका थिए ।

यही साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षका लागि नियुक्ति गरेको थियो । उनको नियुक्तिलाई लिएर सत्तारुढ नेकपा भित्र समेत विवाद भएको थियो ।


पुष्प दुलाल