कर्मचारी पीसीआर परीक्षण र उपचार खर्च बैंक तथा वित्तीय संस्थाले नै बेहोर्नुपर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कोरोना संक्रमित र सम्पर्कमा आएका कर्मचारीलाई परीक्षण तथा उपचारको सम्पूर्ण खर्च बेहोर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

कोभिड–१९ जोखिम दिनानुदिन बढ्दै गएको हुँदा बैंक तथा वित्तीय संस्थामा कार्यरत कार्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम बैंकिङ सेवा सूचारु गर्न सो निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

‘कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थितरुपमा घर, अस्पताल वा हशोटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने । संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक टे«सिङमा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ’ केन्द्रीय बैंकद्वारा जारी सो परिपत्रमा भनिएको छ ।

आइसोलेसन तथा क्वारेन्टिनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आएपछिमात्र कार्यालय आउने व्यवस्था गर्ने समेत राष्ट्र बैंकको निर्देशन छ ।

साथै, इलाका बाहिर खटिएका कर्मचारी सस्थामा फर्कदा पीसीआर परीक्षण गराइ रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ ।

यसैगरी, राष्ट्र बैंकले २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालो गरी कार्यसम्पादन गराउन निर्देशन जारी गरेको छ ।

बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाइ सो अवधिको हाजिरी हुने व्यवस्था गर्दै पूरा तलब दिनुपर्ने उल्लेख गरेको छ । घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त विदा र वर्क फ्रम होम उल्लेख गरी हाजिरी गराउनु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।

कार्यालयबाटै सेवा दिने कर्मचारी र सेवाग्राहीको न्यूनतम स्वास्थ्य सुरक्षा उपया बैंकले अपनाउनु पर्ने र सोमा आवश्यक सामग्रीहरु बैंकले अनिवार्यरुपमा राख्न राष्ट्र बैंकको निर्देशन छ । जारी निर्देशनमा उल्लेख गरिएका व्यवस्थाहरु बैंक तथा वित्तीय संस्थाले साउन ३० गतेभित्रै पालना गरी सोको रिपोर्टिङ राष्ट्र बैंकमा गर्नुपर्नेछ ।


क्लिकमान्डु