सानिमा जनरलको नाफा बढ्यो



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ५४.४० प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आर्थिक वर्षमा २०७६/७७ १ करोड ९३ लाख रुपैयाँले खुद नाफा बढाएर ५ करोड ५६ लाख रुपैयाँ पुर्याएको हो । अघिल्लो आवको कम्पनीको खुद नाफा ३ करोड ६२ लाख रुपैयाँ थियो ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सो अवधिमा ८१.३४ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७ करोड ४७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका कम्पनीले गत आवको सोही अवधिमा ६ करोड ८ लाख रुपैयाँले बढाएर १३ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ ।

समीक्षा अवधिमा कम्पनीले २ करोड ७३ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ, भने ७ करोड ७० लाख रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी छ । कम्पनीले सो अवधिमा ८ सय ७ वटा बीमा दाबी भुक्तानी गरेको छ भने ४ सय ६ वटा बीमा दावी भुक्तानी गर्न बाँकी छ ।

सो अवधिमा कम्पनीले ६ करोड ४० लाख रुपैयाँ पुनरबीमा कमिशन प्राप्त गरेको छ । साथै, कम्पनीले गत आवमा ७७ लाख ६२ हजार रुपैयाँ अभिकर्तालाई कमिशन वितरण गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ, जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ, बीमा कोषमा ५ करोड ७३ लाख ३१ हजार रुपैयाँ र महाविपत्ती कोषमा ५७ लाख ४९ हजार रुपैयाँ छ ।


क्लिकमान्डु