कोरोना बीमामा हालसम्म १५५ जनाले गरे डेढ करोडको भुक्तानी दाबी



काठमाडौं । कोरोना बीमामा १ करोड ४८ लाख ५० हजार रुपैयाँ बढीको दाबी परेको छ । निर्जीवन बीमा कम्पनीमार्फत् गत बैशाखदेखि शुरु भएको कोरोना बीमामा १ सय ५५ जना बीमितले भुक्तानी दाबी गरेका हुन् ।

हालसम्म बीमा कम्पनीहरुले ६ लाख ४७ हजार ६१० जनाको ३६ करोड ४६ लाख ६५ हजार ६८२ रुपैयाँ बराबरको कोरोना बीमा गराएर प्रिमियम संकलन गरेका छन् ।

बीमा कम्पनीहरुले कोरोना बीमा लेख ५ हजार रुपैयाँ र १ लाख रुपैयाँ गरी दुई प्रकारका बीमा लेख बिक्री गर्दै आएका छन् । कम्पनीहरुमा हालसम्म परेको दाबीमध्ये ५० हजार रुपैयाँको ७ वटा र बाँकी सबै १ लाख रुपैयाँको परेको छ ।

कोरोना दाबीको दायित्व 
शुरुवातमा बीमा पुलअन्तर्गत रहेर दाबीको दायित्व बहन गर्ने सम्झौता गरी कोरोना बीमा सञ्चालनमा ल्याइएको थियो । जसमा २० प्रतिशत पुनरबीमा कम्पनीले र ८० प्रतिशत २० वटा बीमा कम्पनीहरुले ४÷४ प्रतिशत गरेर दाबी भुक्तानी गर्नुपर्ने थियो ।

तर कोरोना संक्रमितको संख्या बढेसँगै यसको दायित्वको मोडालिटी पनि परिवर्तन गरियो । हाल कोरोना बीमाको दायित्व सरकार, बीमा समिति, नेपाल पुनरबीमा कम्पनी र बीमा कम्पनीहरुले बहन गर्ने सम्झौता भएको छ ।

अर्थमन्त्रालय, बीमा समिति र बीमक संघबीच भएका सम्झौताअनुसार पहिलो १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी पूलअन्तर्गत दाबी भुक्तानी गर्नेछन् । त्यसपछि १ अर्ब रुपैयाँ पुनरबीमा कम्पनीले, त्यसपछिको ५० करोड रुपैयाँको दाबी बीमा कम्पनीहरुले आफ्नो महाविपत्ती कोषबाट बहन गर्नेछन् ।

यसैगरी २ अर्ब ५ करोड रुपैयाँमाथिको १ अर्ब रुपैयाँ बीमा समितिले दायित्व लिनेछ । भने सोभन्दामाथि परेको दाबीको दायित्व सरकारले बहन गर्नेछ । दायित्व बहनको आधारमा सरकारले घोषणा गरेको कोरोना बीमा कार्यक्रमको कार्यविधि बनाइएको बीमा समितिले जानकारी दिएको छ ।

बीमक संघद्वारा उपलब्ध तथ्यांकअनुसार कम्पनीहरुले हालसम्म ४४ जना बीमितलाई ४१ लाख दाबी भुक्तानी गरिसकेका छन् ।

जसमा ३८ वटा दाबी १ लाख रुपैयाँका बीमा लेखका ३८ करोड रुपैयाँ र ६ वटा दाबी ५ हजार रुपैयाँका कोरोना बीमा लेखको ३ लाख रुपैयाँ हो । साथै, हालसम्म १ सय ११ वटा दाबी बराबरका १ करोड ७ लाख ५० हजार रुपैयाँ बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी छ ।

हालसम्म सबैभन्दा बढी लुम्बिनी इन्स्योरेन्समा सबैभन्दा बढी ३१ वटा कोरोना दाबी परेको छ । कम्पनीमा परेको दाबीमध्ये ३ वटा दाबी बराबर ३ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने २८ लाख ५० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी बाँकी छ ।

यस्तै, शिखर इन्स्योरेन्समा हालसम्म ३० लाख रुपैयाँ बराबरको ३० वटा कोरोना बीमा दाबी परेको छ । जसमा कम्पनीले ६ वटा दाबी बराबर ६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २४ वटा दाबी बराबर २४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यसैगरी, युनाइटेड इन्स्योरेन्समा १५ लाख रुपैयाँ बराबरको १५ वटा कोरोना दाबी परेको थियो । जसमा कम्पनीले १३ वटा दाबी भुक्तानी गरिसकेको छ भने २ वटा दाबी भुक्तानी गर्न बाँकी छ ।

जनरल इन्स्योरेन्समा हालसम्म १५ वटा कोरोना बीमा दाबी भुक्तानी परेको छ । जसमा कम्पनीले १ वटा दाबी भुक्तानी गरेको छ, भने १४ वटा दाबी बराबर १४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कुन बीमा कम्पनीले कति दावी भुक्तानी गरे, कति बाँकी ?


क्लिकमान्डु