थापाथली अस्पतालमा पीसीआर ल्याब उद्घाटन



काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले त्यही पीसीआर परिक्षण गर्न सक्ने भएका छन् ।

राजधानीमा कोरोना फैलिएसँगै त्यसको परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको उद्घाटन भएको छ । अस्पतालको ६१ औँ वार्षिक उत्सवको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ल्याबको उद्घाटन गरेका हुन् ।

काठमाडौँ महानगरपालिकाले गत साउन ४ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई पीसीआर मेसिनसहित कोभिड–१९ का लागि अत्यावश्यक केही स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा मन्त्री ढकालले प्रसूति सेवाका लागि विशिष्ठ योगदान दिदैँ आएको उक्त अस्पतालको स्तरोन्नतीका लागि सरकार थप सहयोग गर्न तयार रहेको बताए ।

महानगर प्रमुख शाक्यले महानगरपालिकासँग स्वास्थ्यका क्षेत्रमा प्रयाप्त पूर्वाधार र जनशक्ति नभएकाले पूर्वाधारसहितका अस्पताललाई कोभिड–१९ को परिक्षणका लागि अत्यावश्यक सामग्री सहयोग गर्दै आएको बताए । ‘आर्थिक बर्ष २०७७–०७८ को बजेटमा पनि कोभिड–१९ को असर, त्यसको रोकथाम र यसबाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरण लगायतमा बजेट विनियोजन गरेका छौँ,’ शाक्यले भने ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली उपनिर्देशक श्रीप्रसाद अधिकारीले उक्त ल्याबबाट छिट्टै सेवा सुरु गर्ने बताए । ‘आज ल्याबको उद्घाटन भयो । अब यसको प्रक्रिया पूरा गरेर एक हप्ता भित्रै सेवा सुरु गर्ने तयारी छौँ,’ अधिकारीले भने ।

यसअघि अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीको कोरोना परिक्षणका लागि अन्तै पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब त्यो बाध्यता हट्ने बताए ।

‘हामीले सेवा सुरु गरेपछि सरकारी मापदण्डको परिधी भित्र रहेर अस्पताल बाहिरका मानिसको पनि परिक्षण गर्ने सोच बनाएका छौँ,’ उनले भने, ‘सुत्केरी महिला, बच्चा र पाठेघरलगायतको अप्रेसनका लागि यहाँ आउनु भएका सेवाग्राहीलाई पहिलो प्राथमिकता दिन्छौँ ।’ उनले ल्याबको क्षमता हेरेर दैनिक करीब २० बाट सुरु गरी २ सय सम्मको पीसीआर परिक्षण गर्ने लक्ष्य लिएको जानकारी दिए ।

महानगरपालिकाले प्रसुतीलाई पीसीआर मेसिन एक थानसहित, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पीपीइ ५ सय थान हस्तान्तरण गरेको थियो ।
प्रसुती गृहलाई हस्तान्तरण गरेको पीसीआर मेसिनकोय चार लाख ४० हजार युआन रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।


क्लिकमान्डु