सेयर किन्नका लागि सस्तो मूल्यका वाणिज्य बैंक, यी हुन् विकल्प



काठमाडौं । नेपालको सेयर बजारमा बैंकिङ क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी छ ।

बैंकिङ समूहको उपसूचकमा सुधार आउँदा सेयर बजारमा उकालो लाग्ने र गिरावट हुँदा बजारमा पनि गिरावट आउने गरेको छ । बजारमा बैंकिङ क्षेत्रको योगदान निकै छ ।

पुँजी बजारमा धेरै योगदान भएपनि वाणिज्य बैंकहरुको सेयर मूल्य भने निकै निराशाजनक अवस्थामा छ ।

बजार बढेको समयमा त राम्रो सेयर मूल्य नभएका बैंकहरुको घटेको समयमा नै ज्यादै न्यून सेयर मूल्य छ । साधारण सेयर प्रतिकित्ता १ सय रुपैयाँमा पाइन्छ । तर अहिले कतिपय बैंकको सेयर दोस्रो बजारमा नै साधारण सेयरको मूल्यमा पाउने अवस्था नै सृजना भएको छ ।

अहिले दोस्रो बजारमा केही वाणिज्य बैंकको सेयर झण्डै आइपीओको मूल्यमा पाउने अवस्था देखिएको छ ।

सेयर कारोबारका लागि यो साताको अन्तिम दिन बिहीबार बैंकिङ क्षेत्रमा गिरावट देखिएको छ । बैंकिङ समूहको उपसूचक ३.९३ अंकले घटेको छ । अहिले साधारण सेयर (आइपीओ) पनि राम्रा राम्रा कम्पनीको जारी भइरहेको छ । आइपीओमा लगानीकर्ताको ध्यान निकै गएको देखिएको छ ।

यहि बेलामा बजारमा आएको गिरावटले बैंकिङ समूहको सूचकका साथै कम्पनीको सेयरमा पनि निकै गिरावट आएको देखिएको छ ।

यतिबेला बजारमा प्रतिकित्ता २ सय रुपैयाँभन्दा कम सेयर मूल्य हुने कम्पनीको संख्या ६ वटा कम्पनी छन् । यस्तै ३ सय रूपैयाँभन्दा कम सेयर मूल्य हुने बैंकको संख्या १७ वटा छ । बिहीबार मात्रै १७ वटा बैंकको सेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँभन्दा कम छ । १७ वटा वाणिज्य बैंकमा कम मूल्य हुने बैंकमा सिभिल बैंक छ । सिभिल बैंकको सेयर मूल्य प्रतिकित्ता १४४ रुपैयाँ मात्रै  छ । यो कम्पनीको सेयर मूल्य पनि आइपीओको नजिक आएको छ ।

३ सय रूपैयाँको हाराहारीमा सेयर मूल्य रहेको बैंकमा सिद्धार्थ बैंक छ । सिद्धार्थ बैंकको सेयर मूल्य प्रतिकित्ता २९३ रुपैयाँ छ ।

यतिबेला बैंकिङ क्षेत्रको संस्तो मूल्यमा सेयर उठाउन चाहने लगानीकर्ताका लागि १७ वटा बैंक छन् । त्यसमा पनि ६ वटा त ज्यादै न्यून मूल्यका छन् । जसमा सिभिल, सेञ्चुरी, सिटिजन्स, कुमारी, नेपाल बंगलादेश, एनसीसी बैंक छन् ।

यी बैंकको सेयर किन्न चाहने लगानीकर्ताले प्रतिकित्ता २ सय रुपैयाँ पनि खर्चनु पर्दैन । प्रतिकित्ता २ सय रुपैयाँभन्दा कम खर्च गरे पुग्छ ।

त्यस्तै ३ सय रूपैयाँभन्दा कम मूल्यमा पनि वाणिज्य बैंकको सेयर खरिद गर्न सकिने छ । ३ सय रूपैयााभन्दा कम तर त्यसमा पनि न्यून मूल्य रहेका कम्पनीमा मेगा २१७, बैंक अफ काठमाण्डू २२२, माछापुच्छ्रे बैंक २२८, प्रभु २३२, सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २३३ रुपैयाँ छ ।


क्लिकमान्डु