नेप्से सूचक टीएमएस र वेबसाइटमा फरक, लगानीकर्ता अन्योलमा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक वेबसाइट र टीएमएसमा फरक परेको छ । जसका कारण बुधबार दिनभर लगानीकर्ता अन्योलमा परे ।

बुधबारको कारोबारमा टीएमएस प्रयोगकर्ताले एक खालको तथ्याङक पाए भने अनलाइन प्रयोगकर्ताले अर्को खालको तथ्याङक पाए ।

नेप्सेको ४७ हजार २६ जना लगानीकर्ताले बुधबार बिहानदेखि नै लगानीकर्ताले समस्या भोग्नु परेको हो । जसको असर बुधबार बिहान पनि सेयर कारोबार शुरु हुँदा नै ४५ मिनेट ढिला भएको थियो । त्यसको असर दिनभरी देखियो ।

नेप्सेको कमजोरीको कारण टीएमएस सेवा नलिने कयौं लगानीकर्ता वास्तविक सूचना पाउनबाट बञ्चित भए । साथै कतिपय लगानीकर्ताले सेयर बजारको वास्तविक सूचना थाहा नपाएर आफ्नो सम्पत्ति समेत गुमाएका छन् ।

नेप्सेले स्वघोषणा गरी अन्तर्राष्ट्रिय स्तरको दाबी गरेको वेबसाइटलाई आधार मान्ने हो भने बुधबार नेप्से मापन गर्ने सूचक २१.६१ अंकले घटेर १३८२.२५ बिन्दुमा रोकिएको छ । तर टिएमएसलाई आधार मान्ने हो भने नेप्से जम्मा ५.८९ अंकले मात्रै घटेको छ ।

बुधबार १८६ कम्पनीको ३४ लाख ४७ हजार ७६५ कित्ता सेयर १ अर्ब २३ करोड ३९ लाख ६३ हजार ९३४ रुपैयाँमा किनबेच भएको छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानका छ । कम्पनीको १३ करोड ६१ लाख १९ हजार ९०७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र एनएमबी बैंक छन् ।

सेयर बजारको उतार चढावभन्दा बढी तनाव आज लगानीकर्ताले नेप्सेको अनलाइन प्रणालीले दिएको तनाब झेल्नु परेको नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरीको भनाइ छ ।

‘बिहानदेखि नेप्सेको साइटमा देखिएको समस्याका कारण आज झन्डै दिनभर लगानीकर्ताहरुले सास्ती खेप्नु परेको छ,’ उनले भनिन् ‘नेप्सेको साइट र टिएमसमा देखिएका फरक–फरक डाटाको कारण धेरै लगानीकर्ताहरु अन्योलमा रहेको देखियो ।’

नेप्सेको कार्य शैलीका कारण लगानीकर्ता कसरी आफ्नो लगानी सुरक्षीत गर्ने भन्नेमा अन्योलमा परेका उनको भनाइ छ । बुधबारको कारोबारमा नेप्सेको निकै लापरबाही देखिएको उनको दाबी छ ।


क्लिकमान्डु