सुनको मूल्य १ लाख कट्यो, व्यवसायी भन्छन्ः अझै बढ्न सक्छ



काठमाडौं । बजारमा सुनको मूल्य १ लाख रुपैयाँ नाघेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सूनको मूल्य बुधबार १ हजार ६ सय रुपैयाँले बढेको हो ।

विश्व बजारमा सुनमा अत्यधिक लगानी बढ्दा मूल्य आकासिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।

‘अझै एक सातासम्म सुनको लगातार वृद्धि हुनसक्छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘डलरको मूल्यमा आएको गिरावट र कोरोना भाइरसको कारण अन्य क्षेत्रमा लगानी नहुँदा सूनमा लगानी बढेको छ ।’

सुनको मूल्य बढीमा १ लाख १५ हजार रुपैयाँसम्म पुगेपछि भने घट्न सक्ने अनुमान शाक्यले गरे । बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य हालसम्मको सबैभन्दा उच्च विन्दुमा पुगेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार २३.७४ डलर पुगेको छ ।


क्लिकमान्डु