कोरोना बीमाको कार्यविधि बन्यो, अर्को सातादेखि सरकारी अनुदानमा कोरोना बीमा



काठमाडौं । अर्को साताबाट सर्वसाधारणलाई कोरोना बीमामा ५० प्रतिशत र सरकारी कर्मचारीको कोरोना बीमामा शतप्रतिशत अनुदान हुने भएको छ ।

सरकारले बजेटमार्फत् घोषणा गरेको कोरोना बीमा कार्यक्रम अर्को साताबाट लागू हुनेभएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत जेठ १५ गते चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै १ लाख रुपैयाँको कोरोना बीमा सरकारको तर्फबाट गरिदिने घोषणा गरेका थिए ।

जसमा सरकारी कर्मचारीलाई शतप्रतिशत र सर्वसाधारणलाई बीमा शुल्कमा ५० प्रतिशत सरकारले ब्योहोर्ने उल्लेख छ ।

सरसकारले बजेटमार्फत् घोषणा गरेको नीति तथा कार्यक्रमहरु प्रायः साउन १ गतेबाट लागू हुन्छ । तर कोरोना बीमामा सम्बन्धी कार्यक्रम लागू गर्न १५ दिन ढिलो भइसकेको छ ।

बीमा समितिले कोरोना बीमा सम्बन्धी कार्यविधि बनाएर अर्थमन्त्रालय पठाएपछि त्यसको स्वीकृत मन्त्रालय गरेर घोषित कोरोना बीमा कार्यक्रम लागू हुने हो । समितिले भने कोरोना बीमा कार्यविधि बनाएर मन्त्रालय पठाइसकेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘हामीले कार्यविधि बनाएर मन्त्रालय पठाएको ४÷५ दिन बढी भयो,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूलाई भने, ‘मन्त्रालयबाट स्वीकृत भएर आएपछि हामी कार्यविधि लागू गछौँ ।’

कोरोना बीमाका गर्न कम्पनी र त्यसको दायित्व बहनको लागि सम्बन्धित सरोकारवालासँग आवश्यक छलफल गरी कार्यविधि निर्माण गरिएको उनले बताए ।

समितिबाट प्राप्त कोरोना बीमा कार्यविधिमा अर्थमन्त्रालयको वित्त विभागले अध्ययन गरी सकेको विभाग प्रमुख झक्कप्रसाद आर्चायले बताए ।

‘विभागले कार्याविधि विस्तृत अध्ययन गरेर सचिव ज्यूलाई बुझाइसकेका छौँ,’ उनले क्लिकमाण्डूसँग भने, ‘आइतबार÷ सोमबारसम्ममा सम्पुर्ण प्रक्रिया पुरा गरेर बीमा समिति कार्यविधि जान्छ ।’

कार्यविधि लागू भएसँगै सरकारले सर्वसाधारणले १ लाख रुपैयाँको कारोना बीमा गर्दा शुल्कमा ५० प्रतिशत अनुदान दिने र सरकारी कार्मचारीलाई शतप्रतिशत अनुदान दिने उनले बताए ।

हालसम्म ६ लाख १ सय ६७ जनाको ३३ करोड ६९ लाख ७२ हजार ४२२ रुपैयाँ बराबरको कोरोना बीमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले गरिसकेको छन् ।


क्लिकमान्डु