अजोड इन्स्योरेन्सभित्र जोडको कथा, तीन दिनसम्म पनि किन भएन सेयर कारोबार ?



काठमाडौं । स्पेशल प्रि–ओपनिङ सेसनमा कारोबार नहुँदा अजोड इन्स्योरेन्स कम्पनीको प्राथामिक सेयर सूचिकृत भएको तीन दिनसम्म दोस्रो बजारमा कारोबार हुन सकेको छैन । अजोडको सेयर बिहीबार पनि प्रि-ओपनिङ सेसनमा बिक्री अर्डर नआएकाले नियमित समयमा पनि किनबेच नभएको हो ।

यसअघि प्रि–ओपनिङ सेसनमा कारोबार नहुँदा मंगलबार र बुधबार पनि सेयर किनबेच हुन सकेको थिएन । प्रि-ओपनिङ सेसनमा कारोबार भएको खण्डमा आइतबार मात्रै कारोबार हुनेछ । अजोडको सेयर लगानीकर्ताले यो बेला बिक्री गर्न नचाहेको देखिएको छ ।

आईपीओ जारी गरेर दोस्रो बजारमा आएका नयाँ कम्पनीको पहिलो कारोबार हुनका लागि प्रि-ओपनिङ हुनुपर्छ । प्रि-ओपनिङपछि मात्रै नियमित समयमा सेयर कारोबार हुन्छ ।

सेयर कारोबारमा नयाँ सूचीकृत कम्पनीका लागि स्पेशल प्रि-ओपनिङ सेसन रहन्छ । त्यो भनेको नयाँ आएका कम्पनीको कुन मूल्यमा सेयर कारोबार खुला गर्ने भन्नका लागि यसको व्यवस्था गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

त्यसका लागि कम्पनीको नेटवर्थको तीन गुणालाई आधार मानेर रेञ्ज दिइन्छ । नेप्सेले अजोडको सेयरमा पहिलो कारोबार न्यूनतम ९७ रुपैयाँदेखि अधिकतम २९१ रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । दोस्रो बजारको सेयर कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताबीच टेबुल तयार हुन्छ । त्यसमा कतिमा किन्न र कतिमा बेच्न चाहेको छ भनि देख्न सकिन्छ । र, त्यो रेकर्डमा पनि बस्छ ।

त्यति मात्रै होइन, त्यसमा थप २ वटा सर्त समेत छन् । जसमा पहिलो सर्तअनुसार किन्नेले कम मूल्य पाउने र बेच्नेले बढी मूल्य पाउने एउटा सर्त र दोस्रोमा कमभन्दा कम आदेश रद्द हुने व्यवस्था छ । अर्थात् धेरैले किन्न वा बेच्न पाउन भन्ने ध्येयले नै टेबुल तयार पारिएको हुन्छ ।

यो नेपालको मात्रै होइन अन्तर्राष्ट्रिय व्यवस्था हो । कम्पनीले पाएको ओपनिङ रेञ्जको आधारमा रहेर सेयर कारोबार गर्नुपर्ने हुन्छ ।

प्रवक्ता पराजुलीका अनुसार सेलमा एउटा पनि अर्डर नआएका कारण विगत तीन दिनदेखि कुनै पनि सेयर कारोबार हुन नपाएको हो । सेलमा एउटा मात्रै अर्डर आए पनि म्याच हुने र कारोबार खुल्ने र त्यो नै पहिलो मूल्य हुने उनको भनाइ छ । दोस्रो बजारको कारोबारमा प्रि-ओपनिङमा पुराना कम्पनीको हकमा ५ प्रतिशतभन्दा घटी वा बढी हुनुहुँदैन । नयाँको भने नेटवर्थको आधारमा निर्धारण हुन्छ ।


क्लिकमान्डु