सुनको झोला फालेर भागेका ३ जना पक्राउ, काठमाडौं ल्याएर अनुसन्धान गरिँदै



काठमाडौं । काठमाडौंको कमलादी स्थित नबिल बैंककाे माेडमा १५ किलाे सुन फालेर फरार भएका ३ जनालाई  प्रहरीले पक्राउ गरेकाे छ । प्रहरी अपराध महाशाखाका अनुसार उनीहरुलाई बुधबार बेलुका नवलपरासीमा पक्राउ गरिएको हो ।

‘तीन जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ, अहिले त्यसबारेमा अनुसन्धान भइरहेको छ,’ एक प्रहरी अधिकारीले भने ।

उनका अनुसार स्कोर्पियो धनीको समेत पहिचान भइसकेको र आवश्यक अनुसन्धान भइरहेको छ । गत मंगलबार महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहालको नेतृत्वको टोलीले चेकजाँचका क्रममा उनीहरु सुन फालेर भागेका थिए ।

उनीहरु सिल्भर कलरको बा ६ च ५५१९ नम्बरको स्कोर्पियोमा रहेका थिए ।

प्रहरीका अनुसार उनीहरु चेकजाँचका क्रममा १५ किलो सुन र २ थान पेस्तोल फालेर भागेका हुन् । जसमध्ये प्रहरीले परीक्षण गराउँदा ५ सय ग्राम सुन सक्कली र बाँकी साढे १४ किलो नक्कली सुन पत्ता लागेको थियो । साढे १४ किलो चाँदीमा लेपन गरी नक्कली सुन बनाएर उक्त गिरोहको ठगी गर्ने नियत देखिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।


क्लिकमान्डु