लमजुङमा १३ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुँदै



काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिकामा १३ मेगावाट क्षमताको मिदिम–१ जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

माउन्ट रसुवा हाइड्रोपावर प्रालिले निर्माण गर्ने सो आयोजनाले विद्युत् उत्पादनका लागि उत्पादन अनुमति पत्र लिने प्रक्रिया थालेको छ । अनुमति पत्र लिनका लागि कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएकाले सार्वजनिक जानकारीका लागि एक सूचनामार्फत् बिहीबार स्थानीयबासीलाई जानकारी गराएको हो ।

कम्पनीले आयोजना नदी प्रवाहमा आधारित रहने गरी निर्माण गर्न लागेको छ । आयोजनाको कुल जडित क्षमता १३.४२ मेगावाट छ ।

आयोजनाको मुख्य संरचना मिदिम खोलाको बायाँ किनारमा पर्ने र विद्युत् गृह भने ढाक्रेबेसीमा निर्माण हुनेछ । मिदिम खोलामा ५.२ मिटर अग्लो र ३० मिटर लामो बाँध बाँधी इन्टेकमार्फत् पानी ७ हजार २१८ मिटर लामो पेनस्टक पाइपमार्फत् विद्युत् गृहमा खसालिनेछ ।

आयोजनाको विद्युत् गृहमा ६ हजार ९२० किलोवाट क्षमताको पेल्ट्रन टर्वाइन जडान गरिनेछ । उत्पादिन विद्युत् १३२ केभी क्षमताको १३ किलोमिटर प्रसारण लाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको कुल प्रस्तावित खुदी सवस्टेसनमा जडान गरिनेछ ।


क्लिकमान्डु