ललितपुरमा पोल र भित्तामा अनधिकृत विज्ञापन गर्न नपाइने, कारबाही गर्ने महानगरको चेतावनी



काठमाडौं । के तपाईंले ललितपुर महानगरपालिकाको क्षेत्रभित्र रहेका सार्वजनिक स्थानमा अनधिकृतरुपमा विज्ञापन गर्नु भएको छ ? यदी छ भने अब तपाईं कारबाहीमा पर्नु हुनेछ ।

ललितपुर महानगरले आफ्नो क्षेत्रभित्र कुनै अनुमति नलिइ विज्ञापन गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले विजुलीको पोल, सार्वजनिक भित्ता, सडक आसपासका घरहरुमा ट्युसन कक्षा शुरु, टोफलको तयारी हुँदै, यहाँ प्राकृतिक उपचार गरिन्छ भन्दै अनाधिकृतरुपमा विज्ञापन गर्न रोक लगाएको छ ।

यस्तै, विद्यालय, कलेजको भर्ना खुल्यो जस्ता शैक्षिक कार्यक्रमको सार्वजनिक सूचना र स्वास्थ्य सम्बन्धि विज्ञापन गर्ने ध्येयले टाँसिएका तुल ब्यानर, पर्चा पम्प्लेट, भित्ते लेखनलाई समेत महानगरले रोक लगाएको छ । अनुमति लिएर विज्ञापन गर्न पाइने भए पनि थोरै पैसा जोगाउने नाममा गरिएको व्यवहार महानगरलाई क्षम्य नभएको सूचनामा उल्लेख छ ।

अनाधिकृतरुपमा विज्ञापन गर्न रोक लगाइएको हुँदा त्यस्ता प्रकारका विज्ञापनजन्य सामग्री कोही कसैले राखे कडा कारबाही गरिने महानगरले बिहीबार सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

सहरी सौन्दर्य बचाउने लक्ष्यका साथ महानगरले त्यस्तो कदम चालेको बताएको छ ।


क्लिकमान्डु