आईईएलटीएसलगायतका भाषा परीक्षा शुल्कमा १५ प्रतिशत कर लाग्ने, विद्यार्थीलाई मार
काठमाडौं । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण वापत विदेशी मुद्रा सटहीमा परीक्षा शुल्क वापतमा १५ प्रतिशत कर लगाएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७६ संशोधनमा थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो । यसको सोझो मार विद्यार्थीमा पर्ने देखिएको छ ।
नयाँ व्यवस्थामा भनिएको छ, ‘विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउँदा परीक्षा शुल्क वापतको रकममा आयकर ऐन, २०५८ को दफा ९५ (क) तोकेबमोजिमको अग्रिम कर असुल गर्नुपर्नेछ ।’
शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेका अनुसार यस्तो व्यवस्थाले विद्यार्थीलाई मार पर्ने बताए ।
‘उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुले विभिन्न प्रकारका भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ, त्यस्तो रकममा १५ प्रतिशत कर थप्दा त्यसको भार विद्यार्थीमा पर्छ,’ उनले भने ।
हाल आईईएलटीएस र पीटीई परीक्षाका लागि विद्यार्थीहरुले हाल २१ हजार ५०० रुपैयाँ बुझाउनुपर्छ । हाल नेपालमा ब्रिटिस काउन्सिल र आईडीपीले आईईएलटीएसको परीक्षा लिन्छन् ।
त्यसैगरी स्याटका लागि ११३.५० डलर, टोफेलका लागि १८० डलर, जीआरईका लागि २०५ डलर र जिम्याटका लागि २५० डलर विद्यार्थीले बुझाउनुपर्छ ।
आईईएलटीएस र पीटीईका लागि सम्बन्धित कन्सलटेन्सीमार्फत् नेपाली रुपैयाँमा शुल्क बुझाए पुग्छ भने अन्यको हकमा विदेशमा पैसा पठाउनु पर्ने हुन्छ । जसमा विदेशमा पैसा पठाउने समयमा बैंक तथा वित्तीय संस्थाहरुले १५ प्रतिशत कर कट्टा गरी रकम विदेश पठाउनुपर्नेछ ।
सरकारले कर बढाएसँगै विद्यार्थीहरुले विभिन्न भाषा परीक्षाका लागि २ हजारदेखि ३ हजार रुपैयाँसम्म बढी शुल्क बुझाउनु पर्ने हुन सक्छ ।