राष्ट्र बैंकका कर्मचारीलाई टिकटक बनाउन रोक, फेसबुक, ट्वीटर र मिडियामा विचार राख्न अनुमति चाहिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन तथा व्यक्तिगत अभिव्यक्ति दिन रोक लगाएको छ । यस विषयमा राष्ट्र बैंकले आन्तरिक परिपत्र नै जारी गरेको छ ।

कर्मचारीहरुले सामाजिक सञ्जालमार्फत् अनावश्यक जथाभावी अभिव्यक्ति दिएको भन्दै टिकटक बनाउन रोक लगाएको हो । त्यस्तै, फेसबुक, ट्वीटर र म्यासेन्जरमा सरकारका नीति र राष्ट्र बैंकका काम कारबाहीको आलोचना गर्न पनि रोक लगाइएको छ ।

यसका साथै राष्ट्र बैंकका कर्मचारीले सञ्चार माध्यम, पत्रपत्रिकामा आफ्नो लेख प्रकाशन गर्न समेत नपाउने भएका छन् । केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै कर्मचारीलाई स्वीकृतिबिना आफुखुसी सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा तथा वेविनार प्रस्तुतिकरण दिन स्वीकृति लिनु पर्ने उल्लेख गरेको छ ।

राष्ट्र बैंककाअनुसार कर्मचारीहरुले राष्ट्र बैंक कर्मचारी सेवा विनियामावली-२०६८ मा उल्लेख भएको ब्यवस्था विपरित केही कर्मचारीले काम गरेको पाइएको छ ।

उनीहरुले राष्ट्र बैंक र सरकारको नीति विरुद्ध कतिपय समचारगृह तथा सामाजिक सञ्चाजमा लेख प्रकाशन गर्ने, स्वीकृतिबिना नै वेविनारमा भाग लिने गरेका छन् ।

राष्ट्र बैंकले जारी गरेको नीति निर्देशन तथा सरकारको सबै प्रकारको नीति निर्देशनको विरुद्धमा जुनसुकै माध्यमबाट पनि आफुखुसी कर्मचारीले अभिव्यक्ति दिने नपाइने राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बताए ।

‘राष्ट्र बैंक र सरकारको नीति निर्देशनको बारेमा सकारात्मक अभिव्यक्ति राख्न कर्मचारीलाई रोक लगाइएको होइन,’ उनले क्लिकमाण्डूसँग भने, ‘कार्यस्थलमा नै टिकटक बनाउन र अनुमतिबिना नै विभिन्न सञ्चार माध्यममा तथा वेविनारमा अभिव्यक्ति दिन भने अब पाइँदैन ।’

राष्ट्र बैंकले सञ्चार माध्यम तथा अन्य सरोकारवालालाई आवश्यक सुचना दिन वा पुर्याउन प्रवक्ता नियुक्त गरेको हुँदा अन्य कर्मचारीले राष्ट्र बैंकसँग सम्बन्धीत रहेर आभिव्यक्ति दिन वा सुचना दिन नपाउने उनले बताए ।

कर्मचारीमा यस्ता सम्पूर्ण गतिविधि कर्मचारी सेवा विनियामावलीको विवरित भएको हुँदा कर्मचारीले सो गरिएको पाइएका कारवाहीमा पर्ने प्रवक्ता भट्टले जानकारी दिए ।

राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागद्वारा जारी सो परिपत्रमा भनिएको छ- ‘विभागको स्वीकृति बेगर आफखुसी वेविनारमा भाग लिने र प्रस्तुतिकरण दिने, विद्युतीय सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा यस बैंक तथा नेपाल सरकारको नीति विपरित प्रकाशन/प्रशारण/संप्रेषण गर्ने, कार्यालय पोशाक तथा कार्यस्थलमा टिकटक बनाउने जस्ता कार्य बन्द गर्न/गराउन ध्यानाकर्षण गराइन्छ ।’

अन्यथा कर्मचारी सेवा विनियामावलीअनुसार विभागिय कारवाही हुने सो ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


क्लिकमान्डु