रोजगारदाता र ट्रेड युनियनबीच लकडाउन अवधिको ५०% तलब दिने सहमति



काठमाडौं । रोजगारदाता संस्था र ट्रेड युनियनबीच लकडाउनको अवधिको तलब दिने सहमति भएको छ । सहमतिअनुसार उद्योग प्रतिष्ठानले लकडाउनको अवधिमा ५० प्रतिशत तलब दिने सहमति भएको हो ।

२०७६ चैत महिनाको पारिश्रमिक भुक्तानीको हकमा लकडाउन अवधि समेतका लागि साविक वमोजिम पूरा पारिश्रमिक भुक्तानी गर्ने, श्रमिकको पारिश्रमिकबारे नेपाल सरकारको निर्णयको सन्र्दभमा २०७७ वैशाख महिनाको लागि श्रमिकको ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गर्ने सहमति भएको छ ।

त्यसैगरी जेठ महिनाको हकमा लकडाउनको कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत मात्र भुक्तानी गर्ने सहमति भएको छ ।

यसअघि लकडाउन अवधिको ५० प्रतिशत पारिश्रमिक दिने सम्बन्धमा रोजगारदाताका तर्फबाट सरकारमा सुझाव पेश गरिएको थियो । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालको समन्वयमा रोजगारदाताका प्रतिनिधि संस्थाका प्रतिनिधिले पहल गरेका थिए ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्व ट्रेड युनियन महासंघहरू बीच उक्त सहमति भएको हो ।

सहमतिमा लकडाउन अवधिको श्रमिकको पारिश्रमिक भुक्तानीलगायतका विषयमा नेपाल सरकार समक्ष सिफारिस गर्न द्विपक्षीय सहमति भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा लामो समयदेखि जारी औपचारिक एवं अनौपचारिक छलफलबाट रोजगारदाता र ट्रेड युनियन महासंघबीच सहमति भएको हो ।

गत बैशाख २ गते सम्पन्न रोजगारदाताहरूको छाता संस्थाको उच्चस्तरीय भेलाले लकडाउन अवधिको श्रमिकको पारिश्रमिकलगायतका विषयमा सुझाव पेश गर्न ढकाललाई जिम्मेवारी दिइएको थियो । पारिश्रमिक लगायत कोभिड १९ को संक्रमणबाट उत्पन्न समस्या समाधानका लागि सुझाव शिफारिस गर्न श्रम मन्त्रालयको पहलमा गएको वैशाख २८ गते त्रिपक्षीय कार्यदल समेत गठन भएको थियो ।

सोही पृष्ठभूमीमै रहेर रोजगारदाता र ट्रेड युनियन महासंघहरू बीचको निरन्तर गृहकार्य पश्चात यो सहमति भएको हो ।


क्लिकमान्डु