प्रहरीले बरामद गरेको १५ किलो सुनमध्ये साढे १४ किलो नक्कली !



काठमाडौं । मंगलबार बिहान राजधानी काठमाडौंको हात्तिसारबाट नेपाल प्रहरीले १५ किलो सुन पक्राउ गर्यो । नियमित चेकजाँचका क्रममा प्रहरीले सो परिणामको सुनसहित गोली नभएको २ थान पेस्तोल पनि बरामद गरेको थियो ।

ठूलो परिमाणमा बरामद भएको सुनलाई प्रहरीले नेपाल रत्न तथा आभूषण संघलाई परीक्षण गर्न दिएको थियो । परीक्षणका क्रममा बरामद भएको भनिएको १५ किलो सुनमध्ये साढे १४ किलो नक्कली भएको र बाँकी ५०० ग्राम मात्रै सुन भएको प्रमाणित भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार केही सक्कली सुन देखाएर चाँदीमा पहेँलो जलप लगाएर बिक्री गरी ठगी गर्ने नियत देखिएको छ ।

‘हामीले नक्कली सुन बोक्ने गाडीको पहिचान गरिसकेका छौं, अनुसन्धानकै क्रममा भएकाले अहिले त्यसबारे विस्तृत भन्न मिल्दैन,’ एसएसपी ज्ञवालीले भने, ‘कसैलाई थोरै सक्कली सुन देखाएर चाँदीमा जलप लगाई नक्कली सुन बिक्री गरी ठगी गर्न खोजेको देखिन्छ ।’

ठगहरु प्रहरी देखेपछि तस्करहरुले सुन बोकेको झोला फालेर फरार भएका थिए ।

प्रहरीले बरामद गरेको सुनको मूल्य ४२ लाख रुपैयाँ बराबरको र पहेँलो जलप लगाइएको चाँदीको मूल्य १५ लाख रुपैयाँ रहेको एसएसपी ज्ञवालीले जानकारी दिए ।


पुष्प दुलाल