व्यक्तिगत कर्जामा राष्ट्र बैंकको कडाइ, निश्चित प्रयोजन नखुलाइसम्म कर्जा नपाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जामा कडाई गरेको छ । अब बैंक तथा वित्तीय संस्थाले स्पष्ट प्रयोजन नखुलाएसम्म व्यक्तिगत कर्जा दिन नपाउने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले सोमबार एकिृत निर्देशिका २०७६ लाई संशोधन गर्दै ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जामा प्रयोजन खुलाउने व्यवस्था गरेको हो । यस अघि बैंकहरुले सीमा रहेर ओभरड्राफ्ट कर्जा व्यक्तिगत प्रयोजन भनेर उल्लेख गरी प्रवाह गर्दै आएका थिए ।
अब भने यस्तो कर्जा प्रवाह गर्दा ऋणीले कुन प्रयोजनको लागि कर्जा लिने हो त्यसको सम्पूर्ण कागजात बैंकमा बुझाउनुपर्छ ।
संशोधित निर्देशीका अनुसार हालसम्म प्रवाहित निश्चित प्रयोजन नखुलेका व्यक्तिगत कर्जाको त्रयमासिक विवरण ने.रा.बैंक निर्देशन फा.नं. २.४ बमोजिमको ढाँचामा तयार गरी त्रैमास समाप्त भएको १५ दिनभित्र बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ ।
तर, इजाजतपत्रप्राप्त संस्थाले आफ्नै मुद्दती निक्षेप रसिद, सुन चाँदी एवं नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको ऋणपत्रको धितोमा कर्जा प्रदान गर्न, र शत प्रतिशत नगद मार्जिनमा जमानत जारी गर्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।