बन्द भएको श्रीराम सुगर मिलमा किन बढ्यो लगानीकर्ताको आकर्षण ?



काठमाडौं । श्रीराम सुगर मिलका सञ्चालकले आफूहरुले उद्योग चलाउन नसक्ने भन्दै बन्द भएको जानकारी दिएपनि सेयर बजारमा सोही कम्पनीको सेयर कारोबारमा लगानीकर्ताको आकर्षण देखिएको छ । सेयर बजारमा सोमबार सो कम्पनीको सेयरमा १६ रुपैयाँले वृद्धि भयो ।

प्रतिकित्ता ३२२ रुपैयाँ रहेको सो कम्पनीको सेयर सोमबार मात्रै ३३८ रुपैयाँ पुग्यो । कम्पनी बन्द भएको सूचना बिहानै नेप्सेको बेवसाइटमा राखिएको थियो । सो कुराको जानकारी पाएर पनि एकाएक लगानीकर्ताको आकर्षण देखियो । पछिल्ला केही दिनदेखि बन्द हुन लागेको कम्पनीको सेयर मूल्य बढाइएको थियो ।

जानकारहरुका अनुसार सो उद्योग रहेको स्थानमा धेरै जग्गा रहेको र सो बिक्री गर्दा राम्रो मूल्य आउने भन्ने अनुमानका आधारमा लगानीकर्ता सो कम्पनीको सेयरमा आकर्षित भएका छन् ।

सो कम्पनीको अब भने कारोबार भने हुने छैन । ओटिसीबाट मात्रै सेयर कारोबार हुन्छ । कम्पनी खारेजीको प्रक्रियामा सबै भन्दा अन्तिममा मात्र सेयरधनीले आफ्नो स्वामित्वको हिस्सा पाउनेछन् । उद्योगले खारेजीको लागि सरकारसँग अनुमति मागेको छ । उद्योग बन्द भएपनि सबैभन्दा आकर्षण भनेकै जग्गा हो । उद्योगको स्वामित्वमा करिब ८० बिगाहा जग्गा छ । जसको मूल्यांकन जानकारहरुका अनुसार न्यूनतम मात्रै ७ अर्ब बराबरको हुनेछ ।

सरकारले उद्योगलाई जग्गा बिक्रीको अनुमति दिएमा दायित्व तिरेर सेयरधनीलाई लाभ भने हुनेछ । यही अनुमानको आधारमा आज सेयर बजारमा मूल्य बढाउने चलखेल गरिएको हो । बन्द भएको उद्योगको जग्गा बिक्री सहज भने छैन ।

कतिपयले भने लगानीकर्ता स्वयम्ले नै सेयर बिक्री गरेको बताइन्छ । बन्द भएको कम्पनीमा लगानीकर्ता किन आकर्षित भए भन्नेमा भने आम लगानीकर्ताले चासो व्यक्त गरेका छन् ।

सेयर बजारमा आज झिनो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८७ कम्पनीका ४२ लाख ५७ हजार १६१ कित्ता सेयर १ अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ मूल्यमा कारोबार भयो ।

कारोबार भएका १२ उपसमूह मध्ये सोमबार ४ उपसमूहको सेयर उकालो लागेका छन् भने ८ उपसमूहको सेयर भने ओरालो लागेका छन् । नेपाल लाइफ इन्स्योरेन्सको मात्रै १७ करोड ४४ लाख १९ हजार ९४७ बराबरको कारोवार भएको छ । यस्तै नेपाल पुनरबीमा कम्पनीको १४ करोड ८८ लाख ६१ हजार १९४ बराबरको कारोबार भएको छ ।

जोशी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा एनआइसि एशिया लघुवित्त ४.९९ र श्रीराम सुगर मिलका सेयरधनीले ४.९७ प्रतिशतले कमाए ।
यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ९.५२, ओरियन्टल होटल ६.८१ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ५.५६ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु