हुण्डीको कारोबारमा संलग्न न्यूराेडका व्यापारी २० लाखसहित पक्राउ
काठमाडौं । अवैध रुपमा हुण्डीको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका भित्र गैरकानुनी रुपमा हुण्डीको कारोवार गरी राजस्व छली गर्ने ढुण्डी राज न्यौपानेलाई प्रहीले पक्राउ गरेको हो ।
स्याङजा जिल्ला कालिगण्डकी गाउँपालिका ५, ताँपका न्यौपानेको साथबाट प्रहरीले १९ लाख ९१ हजार रुपैयाँ नगद र १ थान मोबाइलसहित पक्राउ गरेको छ । हाल सामाखुसीमा बस्दै आएका न्यौपानेले न्यूरोडमा हाम्रो गण्डकी इन्टरप्राइजेज (कपडा पसल) सञ्चालन गरिरहेका छन् ।
प्रहरीले न्यौपानेलाई विशाल बजार स्थितमा शंकास्पद रूपमा हिडिरहेका अवस्थामा नियन्त्रणमा लिएर शरीर खानतलासी गर्ने क्रममा १९ लाख ९१ हजारसहित नियन्त्रणमा लिएको हो । उनले भाइबर मार्फत हुण्डिको कारोवार गरिएको प्रहरीले जनाएको छ ।
न्यौपानेलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान पछि थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइने अपराध महाशाखाले जनाएको छ । न्यूरोड क्षेत्रमा यस्ता हुण्डीको धेरै कारोबार हुने गरेको र त्यस क्षेत्रमा प्रहरीले थप अप्रेशन गरिरहेको जनाएको छ ।