बाढीपहिरो क्षति न्यूनिकरणाका लागि २ अर्ब बढी लाग्ने



काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरोको क्षति न्यूनिकरणका लागि तत्काल ३३ करोड र दीर्घकालका लागि २ अर्ब बराबरको स्रोत जरुरी पर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायका उच्च पदाधिकारीको बैठकले उक्त परिमाणमा बजेट आवश्यक भएको निष्कर्ष निकालेको हो ।

आपतकालीन अवस्थामा दैवी प्रकोप नियन्त्रणका लागि छुट्टै बजेट व्यवस्था नहुँदा बाढीपहिरो नियन्त्रण प्रभावकारी नभएको गुनासो आएपछि ऊर्जामन्त्री वर्षमान पुनले सरोकारवालाको बैठक बोलाएका थिए ।

बैठकले तत्कालका लागि गृहमन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् रोकथामको काम अगाडि बढाउने निर्णय गरेको छ ।

आपतकालीन जेट तथा सबै जिल्लामा संघीय सरकारको सिँचाइ विभागअन्तर्गतका निकायको अभावमा जोखिम न्यूनिकरणको काम गर्न नसकिएकाले वैकल्पिक व्यवस्था गर्न लागिएको छ ।

प्राधिकरणमा विपद व्यवस्थापन सम्बन्धी शीर्षकमा बजेटसमेत रहेकाले त्यसैको समन्वयमा काम गर्न सजिलो हुने भएको छ ।

त्यस अवसरमा प्राधिकरणको बैठक तत्काल बसेर रकम निकासा गर्ने सहमति भएको छ । त्यसका लागि अर्थमन्त्रालयले सहमति दिने छ । अर्थसचिव शिशिरकुमार ढुंगानाले पनि बजेटमा सहमति दिन कुनै समस्या नभएको जानकारी दिए ।

जलस्रोत तथा सिंचाइ विभागका उप–महानिर्देशक प्रदीपकुमार थापाले तराइसहित सिन्धुपाल्चोक, पर्वत, गुल्मी, म्याग्दी, बागलुङ, बझाङलगायत जिल्लाबाट सम्भावित जोखिम रोक्नका लागि बजेट माग भएको जानकारी दिए ।


क्लिकमान्डु