हिमालयन बैंकलाई एक्सेल डेभलपमेन्ट बैंकको प्रस्तावः हामीलाई मर्जर वा एक्वायर गर्नुहोस्



काठमाडौं । झापामा मूख्य कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले हिमालयन बैंकलाई मर्जर वा एक्वायर गरिदिन आग्रह गर्दै प्रस्ताव पठाएको छ । पहिलो पुस्ताका ठूला बैंकसँग मर्जर तथा एक्वायरमा जाने रणनीति बनाएको एक्सेलले केही दिनअघि हिमालयन बैंकलाई लिखित प्रस्ताव पठाएको हो ।

एक्सेलले दोस्रो पुस्ताका केही वाणिज्य बैंकसँग पनि मर्जर तथा एक्वायरको कुराकानी गरेको थियो ।

तर, आफू नविल, इन्भेष्टमेन्ट, हिमालय जस्ता पहिलो पुस्ताका ठूला बैंकसँग मर्जर वा एक्वायरमा जान बढी इच्छुक भएको भन्दै दोस्रो पुस्ताका बैंकसँग मूल्यमा बार्गेनिङ गरेको थियो ।

एक्सेलले बढी मूल्य भनेपछि थप कुराकानी अघि बढ्न सकेको थिए । यसैबीच एक्सेलले हिमालयनलाई प्रस्ताव पठाएको हो ।

‘प्रदेश नं. १ मा हाम्रो उपस्थिति पनि अलि कमजोर छ, सायद त्यहीकुरा बुझेर होला एक्सेलले हामीसँग मर्ज वा एक्वायर हुन तयार रहेको भन्दै प्रस्ताव पठाएको छ,’ हिमालयन बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘हाम्रो मर्जर कमिटिले यसबारे आवश्यक छलफल गरी जे सिफारिस गर्छ हामी सोही अनुसार अघि बढ्छौं ।’

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच पनि मर्जरको कुराकानी भइरहेको छ । तर मूल्य कति निर्धारण गर्ने, नाम के राख्ने जस्ता विषयले थप कुराकानी अघि बढ्न सकिरहेको छैन ।

दुबै बैंकले आफूलाई अब्बल ठान्छन् । हिमालयनले इन्भेष्टमेन्टभन्दा आफू बलियो भएको र शुसाशन पनि आफ्नोमा राम्रो भएको दाबी गर्छ भने इन्भेष्टमेन्ट बैंकले आफू देशकै ठूलो बैंक भएको र आफ्नो बैंकको सञ्चालक समितिमा अहिलेसम्म कुनैपनि विवाद नभएको दाबी गर्छ ।

मनोजबहादुर श्रेष्ठका कारण हिमालय बैंकको सञ्चालक समिति लामो समयदेखि विवादको भूमरीमा परेको थियो ।

‘इन्भेष्टमेन्ट बैंकसँगको कुरा पनि मर्जर कमिटिबाटै छलफल हुन्छ,’ स्रोतले भन्यो ‘हामीले आफ्नो ग्रोथका लागि स-साना बैंक लिएर अघि बढ्नुपर्ने आवश्यकता पनि छ । त्यसका लागि एक्सेल उपयुक्त हुन पनि सक्छ ।’

पूर्वका ५ जिल्लालाई कार्यक्षेत्र बनाएर काम गरेको एक्सेलले ०७६ चैत मसान्तसम्ममा ९ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी, बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ छ भने २८ करोड १० लाख रुपैयाँ रिजर्भ छ ।

प्रदेश नं. १ मा हिमालयन बैंकका ७ वटा मात्रै शाखा छन् । बैंकका झापाको विर्तामोड र दमक, सुनसरीको इटहरी र धरान, मोरङको बिराटनगर, धनकुटाको हिले र संखुवासभाको मादीमा शाखा छन् ।
एक्सेलका ३७ वटा शाखा छन् । ३÷४ वटादेखि बाहेक हिमालयन बैंकसँग शाखाको डुब्लिकेशन पनि हुँदैन ।


पुष्प दुलाल