लकडाउन खुलेसँगै कुश्मामा गुलेली शैलीको लठ्ठे पिङ सञ्चालनमा, बन्जी र स्विङ छिट्टै खुल्ने
काठमाडौं । बिश्वकै दोश्रो अग्लो बन्जी सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो र नमुना पिङ बुधबारबाट सन्चलनमा आएको छ।
बन्जीका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथि बाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।
जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ । तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ।
पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए।
चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ। पिङ खेल्न प्रतीब्यक्ति २ सय रुपैयाँ लाग्ने कार्कीले बताए।
बिश्वकै अग्लो स्विङ र स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले अन्य गतिविधि समेत छिट्टै खोल्ने बताइएको छ। क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधिसमेत थपिने कार्कीले बताए।