अबरुद्ध पृथ्वी राजमार्ग खुल्न दुई दिन लाग्ने, नारायणी र कोशीमा खतराको तह पार गर्यो



काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी स्थानमा पहिरो खस्दा चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।

उक्त सडकखण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख कृष्णराज अधिकारीका अनुसार मंगलबार पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ ।

‘मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा छ,’ उनले भने ।

मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उनले बताए ।

स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उनले जानकारी दिए । सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताए ।

‘पानी नरोकिएसम्म मौवाखोलामा काम गर्न मिल्दैन । काम थालेपछि दुई दिन हामीलाई लाग्छ, त्यसैले वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गर्दछु,’ उनले भने ।

यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन ।

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उनले जानकारी दिए ।

सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उनको भनाइ छ ।

मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उनले बताए । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् ।

देशभर बाढीले कहाँ-कहाँ मच्चायो वितण्डा
पछिल्लो २ दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ ।

ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेको छ । ठाउँठाउँमा डुबान शुरु भइसकेको छ । बाढी मापन केन्द्र देवघाटका अनुसार नारायणीको खतराको तह ८ मिटरको हो ।

बिहान ९ बजे नारायणी नदी ९.९ मिटरमा पुगेको छ । यस्तै कोशीको खतरा तह ११ मिटर रहेकामा अहिले नाघेर ११.९७ मिटरमा पुगेको छ ।

नदीको बहाव अझै बढ्दो क्रममा रहेको छ । नारायणीका कारण सुस्तालगायत आसपास तल्लो र नदी तटीय क्षेत्र डुबानको उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सुनिल पोखरेलले जानकारी दिए ।

मकवानपुरको मापन केन्द्रअनुसार पूर्वी राप्ती (मकवानपुर र चितवन हुँदै बग्ने) नदीसमेत बढिरहेकाले सतर्कता तह नजिक पुगेको छ । मंगलबार उक्त नदी खतरातहसम्म पुग्ने अनुमान गरिएको छ । यसले प्रत्यक्षरूपमा चितवनको सौराहा र आसपास क्षेत्र डुबानमा पार्न सक्ने छ । पूर्वी राप्ती ३.३० मिटर सतर्कता तह पार गरी ३.३६ मिटर पुगेको छ । यो नदीको बहाव ३.७० मिटर खतराको तह हो ।

यस्तै चितवनको माडीस्थित रिऊ नदी पनि बढ्ने क्रममा रहेकाले आज खतराको आसापास पुग्नसक्ने अनुमान गरिएको छ । उपत्यकाबाट वाग्मती र सहायक नदी तटीय क्षेत्रसमेत उच्च जोखिममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती, बबई र यसका आसपासका सहायक नदीमा बहाव बढ्दो रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । तिनाउ खतराको आसपास पुग्ने, कर्णाली र महाकालीमा समेत बहाव बढ्ने छ ।

मंगलबार बिरिङ, बक्राहा, निन्दा, लोहन्द्रा, चिसाङखोला, त्रियुगा, खाडो, चुरियाखोला, लालबकैया, बाणगङ्गालगायत प्रदेश नं १, २ र ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बग्ने प्राय नदीमा बहाव बढ्ने र सतर्कता तहसम्म पुग्ने तथा केही नदी खतरा तहसम्म पुग्ने जनाइएको छ ।

यस्तै,प्रदेश नं १ को केही जिल्ला, प्रदेश नं २ का सबै जिल्ला, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका धेरै जिल्लामा आकस्मिक बाढीको सम्भावना छ ।

साउन ७ गते भने कोशी, नारायणीमा बाढीको बहाव घट्ने र सतर्कता तह आसपास रहने जनाइएको छ तर कमला, वाग्मती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतका नदीमा भने बहाव बढ्ने छ । केहीमा आकस्मिकरूपमा बहाव बढी खतराको तहसम्म पुग्ने छ ।

रोहिणी र डुडुवाखोलाको कटान बस्ती जोखिममा
बाँकेको रोहिणी र डुडुवाखोलाको कटानले कोहलपुर नगरपालिकाका तीन टोल जोखिममा परेका छन् । कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवाखोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चट्टारलगायत टोल जोखिममा रहेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार रोहिणी र डुडुवाखोलाको बाढीका कारण कोहलपुर नगरपालिकाको वडा नं ७, ८, १०, ११, १२ र १३ गरी पाँच वडाका बासिन्दा प्रभावित हुँदै आएका छन् ।

खोलाको कटान रोकथामका लागि आवश्यक पहल गरिए पनि खोलाको बहावले धार फेर्दा बर्सेनि ठूलो क्षति हुँदै आएको छ ।

डुडुवा र रोहिणीखोलामा आएको बाढीले तीव्ररुपमा कटान गरिरहेकाले खोलाको छेउमा रहेको बस्ती जोखिममा परेको छ । बस्ती बचाउन नगरपालिकाले मात्रै नसक्ने भएकाले प्रदेश र केन्द्रीय सरकारलाई पनि सहयोगको लागि पहल गरिएको नगरप्रमुख रावतले जानकारी दिए ।

केही दिनयता निरन्तर परेको पानीले कोहलपुर–१२ स्थित जानकीनगर टोल रोहिणीखोलाको तीव्र कटानले जोखिममा परेको स्थानीयवासी एवं कोहलपुर नगरकार्यपालिका सदस्य नारायणी वलीले जानकारी दिए । लगातारको वर्षाका कारण रोहिणी खोलामा आएको बाढीले करिब १५ मिटर कटान गरी बहाव परिवर्तन गरी बस्तीतिर फर्केकाले जोखिम बढेको वलीले बताए । तीन मिटरको चौडाइमा रहेको रोहिणीखोलाले कटान तीव्र पार्दै अहिले १५ मिटरभन्दा बढी फैलिएको उनको भनाइ छ ।

खेतबारी बगाउँदै बस्तीतिर खोला सोझिएको स्थानीय खेमराज शर्माले बताए । उनका अनुसार खोलाको कटानबाट जोगाउनका लागि तत्काल पहल गर्न नसकिए ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको छ ।

रोहणी र डुडुवाखोलाको तीव्र कटानका कारण जोखिममा परेका बस्ती जोगाउनका लागि तत्काल अस्थायीरूपमा तटबन्ध निर्माणकार्य शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

उनले नदीले कटान गरेको स्थानको स्थलगत अवलोकन गरी कटानलाई तत्कालका लागि रोक्न जिल्ला विपद् व्यवस्थापन समितिबाट बोरी र जालीको व्यवस्था गरी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको पहलमा तटबन्ध लगाउन शुरु गरिएको बताए ।

बाजुरामा बाढीपहिरोको वितण्डा
मनसुनी वायुका कारण लगातारको वर्षाले बाजुरा जिल्लामा बाढीपहिरोले वितण्डा देखाएको छ । जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण करौडौँको नोक्सानी भएको छ भने हजारौँ परिवार विस्थापित भएका छन् ।

वर्षायाम शुरु भएसँगै जिल्लाभरि बाढीपहिरोको घटना भइरहेको छ । बाढी र पहिरोले ठूलो क्षति भएको छ । सोमबार जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोले ठूलो क्षति गरेको छ ।

बाजुरा खण्डको साँफे–मार्तडी सडकखण्डको ताप्रिसेरा–घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको छ । आइतबार रातिबाट अविरल वर्षासँगै आएको बाढीपहिरोले बूढीगङ्गा नगरपालिकाकोे कुडी, बजेडी, नडाङ, मुसीगाउँ, खेतकोट ताप्रिसेराको पूरै बस्ती विस्थापित भएका छन् ।

पानी मुलखोला र ठाँडोखोलाबाट आएको बाढीले खोला छेउछाउका मुसी, खर्रा र ताप्रिसेराका खेतीयोग्य जमीन बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले घटनास्थलबाटै जानकारी दिए ।

अविरल वर्षाले बजेडीका केही घर र नडाङका केही घर माथिबाट पहिरो आएर घरहरु चर्केपछि विस्थापित भएका छन् । अहिले उनीहरु सबै छिमेकीको घरमा ओत लागेका छन् ।

पहिरोले दुवै गाउँ जोखिममा छन् । जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न जिल्लास्थित नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ गैरेको भनाइ छ । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घटनास्थलमा पुगेर सोमबार दिउँसो स्थलगत अनुगमन गरेको थियो ।

बाढीपहिरोका कारण साँफे–मार्तडी सडकखण्डकै सदरमुकाम मार्तडीबाट पानी नाउला, ताप्रिसेरासम्म सडक क्षति भएको छ । सडकको ठाउँठाउँमा पहिरो आएको छ भने कतिपय स्थानमा सडक पूर्णरूपमा क्षति भएको छ ।

बाढीपहिरोका कारण जिल्लाको गौमुल गाउँपालिका–६ टुनीमा रहेका १० दलित घरपरिवारसमेत विस्थापित भएका छन् । विस्थापित परिवारलाई गौमुल गाउँपालिकाले राहतको व्यवस्था गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताउनुभएको छ । त्यस्तै गाउँपालिका–४ को गदाडा, ओस्तिबाडा–१ को दुर्गाली, माडीलगायतका वडामा पनि बाढीपहिरोले क्षति पु¥याएको छ । उनीहरु सबैलाई गाउँपालिकाले राहत उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनेको छ ।

बाजुराका ३२ घर जोखिममा
यता बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का ३२ परिवार विस्थापितको उच्च जोखिममा परेका छन् । आइतबार रातिबाट परेको अविरल वर्षाका कारण घरको चारैतिरबाट पहिरो बग्न थालेपछि वडाका नाइना, मैतोला, लम्मेलासहितका टोल उच्च जोखिममा परेको वडाध्यक्ष कुम्भनाथ योगीले जानकारी दिए ।

मैतोलाका बुदे गुयाल, कर्ण गुयाल, चन्द्र गुयाल, सुरेन्द्र गुयाल, अङ्ग गुयाल, दीपक गुयाल, नन्दे गुयाल, केशव गुयाल, विर्कजङ्गी धामी, वीरजित धामी, मङ्गल धामी, माने गुयालसहितका परिवारको घर जोखिममा छन् । यस्तै नाइनाका माडीखोलाका नन्द विष्ट, धिरु विष्ट, पाउनु विष्ट, हर्क विष्ट, कृष्ण नेपाली, बिर्ज पाध्याय, माने सार्की, चन्द्र सार्की र सिद्ध गन्दर्भको घर पहिरोको जोखिममा परेका छन् ।

वडाध्यक्ष योगीका अनुसार मैतोलावासीले उपयोग गर्दै आएको चाम्डेबगर लघु जलविद्युत् आयोजनाको नहर भत्किएर क्षति पुगेको छ । नहर भत्किँदा विद्युत् बन्द भएको छ भने सिङ्गो गाउँ अँध्यारोमा बस्न बाध्य छ ।

यस्तै पारी बगर भन्ने स्थानमा धानखेत पनि बाढीले बगाएर क्षति पु¥याएको छ । वडाभित्रकै जाल्पादेवी माविको भवनसमेत जोखिममा छ । अध्यक्ष योगीसहितको टोलीले क्षतिको विवरण सङ्कलन तथा अवस्थाबारे अध्ययन गर्ने काम पनि गरिरहेको छ । खप्तड छेडेदह गाउँपालिका–७ मा पनि बाढी पहिरोले क्षति पुर्याएको छ भने दशरथ बढालेक आधारभूत विद्यालयको भवनसमेत भत्किने खतरा बढेको वडाध्यक्ष खगेन्द्र रावतले बताए ।

यस्तै प्रमुख जिल्ला अधिकारी गैरेसहितको टोलीले पनि सोमबार दिउँसो घटनास्थलको प्रत्यक्ष अनुगमन गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गैरेसहित प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराई, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधिलगायतले अवस्थाबारे जानकारी लिएका छन् ।


क्लिकमान्डु