भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुल्ने, मन्त्रालयले प्रोटोकल बनाउने
काठमाडौं । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान शुरु गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि हवाई उडान सूचारु गर्ने निर्णय भएको पर्यटनमन्त्री योगेश भट्टराईले क्लिकमाण्डूलाई जानकारी दिए ।
त्यसका लागि पर्यटन मन्त्रालयले प्रोटोकल बनाउने निर्णय भएको उनले बताए ।
आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको भनिएको पर्यटन र उड्डयन क्षेत्र खुलाउनका लागि व्यवसायीहरुले दबाब दिँदै आएका थिए ।
यसअघि पर्यटनसँग सम्बन्धित करिब ३ दर्जन संघ संस्थाले साउन १५ गतेदेखि आन्तरिक उडान र साउन ३१ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्नुपर्ने माग गरेका थिए । उनीहरुले पर्यटन क्षेत्र पुनः सूचारु हुनका लागि हवाई उडान आवश्यक रहेको भन्दै सबैभन्दा शुरुमा हवाई उडान खोल्नु पर्ने माग राखेका थिए ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सरकारले अनुमति दिएमा घाटामा भए पनि सेवा सूचारु गर्ने स्पष्ट पारिसकेका छन् ।
निजी क्षेत्रका हवाई कम्पनीहरुले समेत आन्तरिक उडानका लागि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्दै आफूहरु उडानका लागि तयारी अवस्थामा रहेको बताइसकेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले यसअघि नै नमूना परीक्षण गरिसकेको छ ।
सरकारले यसअघि उपत्यकाको हकमा ३ जिल्ला तथा अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्रै सीमित रहने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिइसकेको छ । सरकारले उक्त अनुमति दिएसँगै पर्यटनसँग सम्बन्धित व्यवसायीहरुले समेत आन्तरिक हवाई उडान खुला गर्नुपर्ने माग राख्दै आएका थिए ।