देशभरी भारी वर्षा, उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह



काठमाडौं । देशभर भइरहेको वर्षाका कारण अधिकांश स्थानमा जलसतह बढ्न गइ तटीय क्षेत्रमा जोखिम उत्पन्न भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बारा, पर्सा, रौतहट र नारायणी नदी किनारका विभिन्न स्थानमा जल सतहले खतराको तह पार गरेको र बढ्दो क्रममा रहेको पाइएको छ ।

विभागले सोमबार बिहान ३ बजेदेखि दिउँसो १२ बजेसम्मको विभिन्न नदी किनारको जल सतहका बारेमा जानकारी दिँदै खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

विभागले हाल नारायणी नदी, देवघाट बाढी मापन केन्द्रमा जल सतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले चितवन र नवलपरासीको नदी तटीय क्षेत्रमा रहेकालाई सोमबार बेलुकासम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

यस्तै, बारा, पर्सा र रौतहटका धेरै स्थानमा भारी वर्षा भइरहेको र थप वर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने जनाएको छ । नदी किनार र ढुबान भइरहने होँचा स्थानमा साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यस्तै परासी, बर्दघाट, डन्डाबजार र नवलपरासीका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । ती स्थानमा थप वर्षा हुन सक्ने भन्दै विभागले अरुण खोला, गिरुवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिएको छ ।

त्यस्तै, पश्चिम राप्ती, बाँकेको ढेकरी र आसपासका क्षेत्रमा समेत भारी वर्षा भएको छ । ती स्थानमा थप वर्षा हुन सक्ने तथा डुडुवा खोला र आसपासमा बाढी आउन सक्ने विभागले चेतावनी दिएको छ ।

राप्ती नदीमा जलसतह केही बढ्ने भएकाले ढुवान भइरहेका होँचा स्थानमा सतर्कता अपनाउन विभागले भनेको छ ।


क्लिकमान्डु