बीमा समितिले आर्जन गरेको रकम सञ्चित कोषमा जम्मा गर्न महालेखा परीक्षकको निर्देशन
काठमाडौं । बीमा समितिले आर्जन गरेको रकम सञ्चितकोष दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सरकारलाई निर्देशन दिएको छ ।
महालेखापरीक्षकको ५७औं प्रतिवेदनमा बीमा समितिको आयव्यय विवरण विश्लेषण गर्दा विगत ३ वर्षको आयबाट खर्च कटाईउँदा हाल सम्मको सञ्चिती ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
आर्थिक वर्ष २०७३/७४ मा ६५ करोड ७७ लाख (आयको ५८.१६ प्रतिशत), आव २०७४/७५ मा ६६ करोड ३७ लाख (आयको ६७.२२ प्रतिशत) र आव २०७५/७६ मा १ अर्ब ३ करोड ८२ लाख (आयको ६८.६९ प्रतिशत) बचत रहेको देखिएको छ ।
प्रतिवर्ष बचत रकम वृद्धि हुँदै गएकोले कानूनी व्यवस्था मिलाई उक्त रकम सञ्चितकोष दाखिला गर्न निर्देशन दिएको छ ।
यस्तै बीमा समितिले २०६९ वैशाख २७ गते एभरेष्ट बैंक, गोल्फुटार शाखामा मुद्दति खातामा ३ करोड लगानी गरेकोमा उक्त लगानीको अभिलेख नराखेको जनाएको छ ।
यस्तै आव २०७४÷७५ सम्मको वित्तीय विवरणमा समेत उक्त लगानी समावेश नगरेको देखिएको छ । समितिले उक्त लगानी रकम आव २०७६ असोज ३० मा मात्र पत्ता लगाएको भनी उक्त खातामा मौज्दात रहेको रकममध्ये ३ करोड तथा ब्याज १८ लाख २४ हजारलाई समितिको खातामा आम्दानी बाँधेको छ ।
समितिले मुद्दती खातामा लगानी गरेको रकम मेच्युर्ड भए पश्चात् रकम माग गर्नुपर्ने र बैंकले मेच्युर्ड भए पश्चात् रकम फिर्ता गर्नुपर्नेमा कलखातामा ट्रान्सफर गरी न्यूनतम ब्याज उपलब्ध गराएको कारण न्यूनतम त्रैमासिक ९ प्रतिशत ब्याजको आधार लिँदा नै ७६ महिनामा २ करोड २३ लाख २५ हजार ब्याज गुमेको देखिएको छ ।
लगानी रकमको अभिलेख राखी वित्तीय विवरणमा समावेश नगर्ने समितिका कर्मचारी तथा मुद्दती खातामा लगानी भएको रकम मेच्युर्ड भए पश्चात् जानकारी दिई समितिमा रकम फिर्ता नगर्ने बैङ्कका कर्मचारी समेतलाई जिम्मेवार गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।