मौद्रिक नीतिः पुनरकर्जामा सहुलियत, ३ देखि ५ प्रतिशत ब्याजदरमा कर्जा पाइने



काठमाडौं । कोरोनाबाट प्रभावित क्षेत्रको आर्थिक क्रियाकलापलाई सूचारु गर्नका लागि ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म पुनरकर्जा उपलब्ध गराइने भएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा प्रभावित क्षेत्रका लागि पुनरकर्जा उपलब्ध गराइएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

मौद्रिक नीतिमा पहुँच अभिवृद्धि गर्दै विस्तारका लागि सहुलियत दरमा कर्जा उपलब्ध गराउन दुर्गम स्थानसम्म कर्जा सुविधा सहज बनाउने उद्देश्यले पुनरकर्जा सम्बन्धि विद्यमान व्यवस्थामा परिमार्जन गर्दै पुनरकर्जाका लागि उपलब्ध कोषको ५ गुणासम्म पुनरकर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने कुल पुनरकर्जाको २० प्रतिशतसम्म मूल्यांकनका आधारमा प्रदान गर्ने व्यवस्थासम्म पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । यसबाहेक ७० प्रतिशतसम्म वाणिज्य बैंक विकास, विकास बैंक र वित्त कम्पनीमार्फत् र १० प्रतिशतसम्म लघुवित्तीय संस्थामार्फत एकमुष्ठ प्रदान गर्ने व्यवस्था गरिएको छ ।

नीतिमा बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजदरमा निर्यातजन्य र रुग्ण उद्योगलगायतका तोकिएका क्षेत्रमा विशेष पुनरकर्जा, २ प्रतिशत ब्याजदरमा लघु, घरेलु उद्यम पुनरकर्जा र ३ प्रतिशत ब्याजदरमा तोकिएका क्षेत्रमा साधारण पुनरकर्जा प्रदान गरिनेछ । यस्ता पुनरकर्जा ऋणीले क्रमशः ३ प्रतिशत, ५ प्रतिशत मात्रै ब्याज तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

कोभिड–१९ बाट अतिप्रभावित उद्योग, व्यवसाय सूचारु गर्न सहजिकरण गर्ने उद्देश्यले ऋणीको आवश्यकता र परियोजना व्यवसायको सम्भाव्यताको आधारमा २०७६ चैतमा कायम रहेको चालु पुँजी कर्जाको सीममा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवह गर्न सक्ने व्यवस्था मिलाइने छ ।

आथिक वर्ष २०७७/७८ को सरकारको बजेटमा व्यवस्था भएबमोजिम स्थापना हुने ५० अर्बको कोष परिचालनमार्फत निश्चित मापदण्डका आधारमा कोरोना प्रभावित पर्यटन र घरेलु तथा साना तथा मझौला उद्योगलगायतका व्यवसायको सञ्चालनम एवम् निरन्तरता, ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र रोजगारी गुम्नेहरुका लागि उद्यमशिलताको अवसर दिन बैंक तथा वित्तीय संस्थाहरुबाट ५ प्रतिशत ब्याजदमा कर्जा उपलब्ध गराइने छ ।


क्लिकमान्डु